बनियानी । कचनकवल-६ बनियानीमा शनिबार बिहान ७:४६ बजे बिस्कुट किन्न गएकी ११ वर्षीय बालिकामाथि बाल यौन दुर्व्यवहार भएको आरोपसँग सम्बन्धित घटनाको सिसिटिभी फुटेज सहित प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ। ईलाका प्रहरी कार्यालय बनियानीको हिरासतमा रहेका ६५ वर्षीय प्रकाश शाहा बनियाँ (मालबाबु) लाई पीडित पक्षबाट किटानी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय भद्रपुरले कानुनी प्रक्रिया अनुसार अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताइएको छ।

बालबालिकामाथि हुने कुनै पनि प्रकारको यौन दुर्व्यवहार सभ्य समाजका लागि गम्भीर चुनौती र कानुनी रूपमा कठोर दण्डनीय अपराध हो। यस्ता घटनामा सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी अनुसन्धान निकाय र न्यायालयको हुन्छ। त्यसैले अनुसन्धान पूरा नहुँदै सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चमा अनुमान, आक्रोश वा पूर्वाग्रहका आधारमा निष्कर्ष निकाल्ने प्रवृत्तिले न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाउन सक्छ।

पत्रकारिताको मूल धर्म कसैलाई दोषी वा निर्दोष घोषणा गर्नु होइन, बरु सत्यतथ्यलाई जिम्मेवार ढंगले सार्वजनिक गर्नु, पीडितको गोपनीयता र सम्मानको रक्षा गर्नु तथा अनुसन्धान प्रक्रियालाई प्रभावित हुन नदिनु हो। संवेदनशील घटनामा उत्तेजनाभन्दा संयमता, अफवाहभन्दा तथ्य र प्रतिक्रियाभन्दा जिम्मेवारी ठूलो हुन्छ।

समाजमा कुनै पनि अपराधप्रति शून्य सहनशीलता आवश्यक छ। तर न्यायको आधार भावनात्मक प्रतिक्रिया होइन, प्रमाण, अनुसन्धान र कानुनी प्रक्रिया हो। त्यसैले “तातै खाउँ, जल्दै मरौँ” भन्ने हतारो मानसिकताभन्दा सत्य स्थापित हुने प्रक्रियाप्रति धैर्यता देखाउनु नै सभ्य समाजको परिचय र सच्चा मानवीयता हो।

अन्ततः पीडितले न्याय पाउनु, दोषी प्रमाणित भए कानुनअनुसार सजाय हुनु र निर्दोष भए न्यायिक संरक्षण पाउनु-यही विधिको शासनको आधारभूत मर्म हो।