झापा, साउन २ - झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारीस्थित घेराबारी-राजगढ सडकखण्डमा असार २५ गते दिउँसो भएको एक दर्दनाक सवारी दुर्घटनाले एउटै परिवारका तीन पुस्तालाई सधैंका लागि बिछोड गराएको छ। सो दुर्घटनामा संलग्न चारै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।


कचनकवल गाउँपालिका-३ (डाकुपरा)का ५५ वर्षीय श्रीप्रसाद राजबंशी (बुलुवा) आफ्नो स्कुटर (प्र.१–०१–०१६ प ९२७०) मा २६ वर्षीया बुहारी उर्मिला राजबंशी र ४ वर्षीय नाति आयुष राजबंशीलाई मावली घर शिवगञ्ज पुर्याउन जाँदै थिए। तर विपरीत दिशाबाट तीव्र गतिमा आएको भारतीय नम्बर प्लेट (BR37AZ 6440) भएको मोटरसाइकलले ठक्कर दिंदा एक क्षणमै सबैको जीवन उल्टापुल्टा बन्यो।
ठक्कर यति भयावह थियो कि श्रीप्रसाद राजबंशीको घटनास्थलमै ज्यान गयो। गम्भीर घाइते उर्मिला र आयुषलाई बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइयो। तर, भाग्यलाई यो पनि स्वीकार्य थिएन-राति ९ बजे नाति आयुषको नन्हा मुटु पनि रोकियो।
आँखा नखोलिकन आठ दिनसम्म जीवन र मृत्युसँग लडिरहेकी उर्मिला राजबंशी पनि आज बिहान सघन उपचार कक्षमै अन्तिम सास फेरेर परिवार र सिंगो गाउँलाई सधैंका लागि बिदा गरिन्।
दुर्घटनामा संलग्न भारतीय मोटरसाइकल चालकलाई पनि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। तर, गम्भीर अवस्थाका कारण सोही दिन साँझ ४:४० बजे उनको पनि मृत्यु भयो।
एकै परिवारको तीन पुस्ता-बुबा, बुहारी र नातिको चिताभस्म भएको खबरले गाउँ नै स्तब्ध छ। कोही आफ्ना प्रियजनको फोटो अँगालेर रोइरहेका छन्, कोही शून्य आँखाले उनीहरूको घरतर्फ हेरिरहेछन्, जहाँ अब सधैंका लागि सन्नाटा छाएको छ।
प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएर घटना सम्बन्धमा अनुसन्धान अघि बढाई नै रहेको छ।