बनियानी, झापा । कचनकवल गाउँपालिका-५ डाँगावारीस्थित पशुपति आधारभूत विद्यालयदेखि उखारु गणेश बस्ती हुँदै जानकी माध्यमिक विद्यालयको दक्षिणतर्फ जोडिने सडक कालोपत्रेका लागि यसै आर्थिक वर्षदेखि काम अघि बढाइने भएको छ।

बहुवर्षीय योजना अन्तर्गत उक्त सडक निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश सभा सदस्य तथा निवर्तमान भौतिक योजना राज्यमन्त्री भूमिप्रसाद राजवंशीले जानकारी दिनुभएको हो।

राजवंशीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षबाटै सडक निर्माणको काम प्रारम्भ गरिनेछ। सडक कालोपत्रे भएपछि डाँगावारी क्षेत्रका बासिन्दाको आवागमन सहज हुनुका साथै स्थानीय बस्ती, शैक्षिक संस्था तथा आसपासका क्षेत्रलाई जोड्ने यातायात सञ्जाल थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

स्थानीय पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण मानिएको उक्त सडक लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको अवस्थामा बजेट सुनिश्चित भएको घोषणाले स्थानीयवासीमा सडक निर्माण हुने आशा बढाएको छ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने भएकाले सडकको कामलाई बजेटको उपलब्धता र निर्माण प्रक्रियाअनुसार चरणबद्ध रूपमा अघि बढाइने जनाइएको छ।