कचनकवल: साना किसान कृषि सहकारी संस्था कचनकवल-२(पथरिया)शाखा र कर्णाली बचत तथा ऋण सहकारी सँस्था कचनकवल-३(पथरिया) शाखामा एकसाथ गतराति अपरिचित समूहले नगद सहित कागजपत्र चोरी गरेको छ।
कचनकवल गाउँपालिका-२ वडा कार्यालय नजिकै रहेको साना किसान सहकारीको झ्याल र ढोका फोडेर भित्र प्रवेश गरी लकर सेफमा रहेको नगद र कागजपत्र चोरी भएको हो ।
गतराति ०२:१२ देखि २:२० सम्म ३ जनाको समूहमा नजिकै रहेको अर्को कर्णाली बचत सहकारीको कार्यालयभित्र भर्याङ चढेर कार्यालयको मुख्य चेनगेटको दुईवटा ताल्चा फोरेर भित्र प्रवेश गर्ने प्रयास गरेपनि स्थानीयले लाईट बालेपछि छाडेर भागेको सिसि टिभी फुटेजमा देखिएको छ।
पछिल्लो समयमा चोरले योजनाबद्ध तवरले ग्रामीण भेगमा रहेको शाखा कार्यालयमा चोरले नगद र जिन्सी समेत चोरी गरिरहेको छ। चोरले कति नगद र जिन्सी चोरी गर्यो भन्ने बिषयमा शनिवार कार्यालय बन्द रहेकोले घटना निकै पछि मात्रै थाहा भएको हो ।