बनियानी । कचनकवल गाउँपालिकाभित्र कृत्रिम बुद्धिमत्ता (AI) को बढ्दो प्रभाव, यसको सम्भावना र चुनौतीबारे विद्यार्थीस्तरमै बहस सुरु भएको छ। श्री लक्ष्मी माध्यमिक विद्यालय कचनकवल-६, बनियानीको आयोजना तथा चण्डी ईटा उद्योग (CBI), कचनकवल-७,८बालुवाडीको सहकार्यमा “विद्यार्थीका लागि कृत्रिम बुद्धिमत्ता (AI) : अवसर र चुनौती” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
गाउँपालिकाभित्र माध्यमिक तह सञ्चालन भएका १६ सामुदायिक तथा संस्थागत विद्यालयमध्ये १३ विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए। प्रविधिको तीव्र विकाससँगै शिक्षा क्षेत्रमा AI ले सिर्जना गरेका अवसर र सम्भावित चुनौतीलाई विद्यार्थीको दृष्टिकोणबाट प्रस्तुत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयकी छात्रा आयुसा अधिकारीले ९१ अङ्कसहित प्रथम स्थान हासिल गरिन्। गोल्डेन फ्युचर माध्यमिक विद्यालयकी छात्रा शिवानी भण्डारी ८५ अङ्कसहित द्वितीय तथा लक्ष्मी माध्यमिक विद्यालय, बनियानीकी छात्रा कृति सिटौला ८४ अङ्कसहित तृतीय भइन्। जानकी माध्यमिक विद्यालय, बालुवाडीका छात्र पूर्ण लिम्बू ७८ अङ्कसहित सान्त्वना भए।
विजयी विद्यार्थीलाई क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई आयोजक विद्यालयले प्रमाणपत्र प्रदान गरेको थियो।
प्रतियोगितामा सहभागी अन्य विद्यार्थीमध्ये स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयका मोहम्मद सहादत शेखले ७७, महेन्द्र रत्न माध्यमिक विद्यालयकी उषा कुमारी गणेशले ७५, साउथ दीप एकेडेमीका अविरल कार्कीले ७३, जनता माध्यमिक विद्यालयकी ममता घिमिरेले ७२, विद्या निकेतन माध्यमिक विद्यालयकी बेनिसा घिमिरेले ६९, पथरिया माध्यमिक विद्यालयकी अदिति मिश्रले ६८, बुद्ध माध्यमिक विद्यालयकी प्रिति राजवंशीले ६५, कचनकवल विद्या मन्दिरका युनिस घिमिरेले ६० तथा मोती माध्यमिक विद्यालयकी सङ्गिता श्रेष्ठले ५७ अङ्क प्राप्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा चण्डी ईटा उद्योगका सञ्चालक विष्णु प्रसाद घिमिरे सहभागी थिए। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम खतिवडाले गरेका थिए भने सञ्चालन शिक्षक लिलाबल्लभ भट्टराईले गरेका थिए।
विद्यालयका प्रधानाध्यापक छबिलाल बस्नेतले स्वागत मन्तव्यका क्रममा CBI ले सामाजिक उत्तरदायित्वअन्तर्गत लक्ष्मी माध्यमिक विद्यालयलाई प्राथमिकतामा राख्दै गरेको सहयोगप्रति विशेष आभार व्यक्त गरे।
कार्यक्रममा स्वर्णिम शिक्षा सदनका संस्थापक जीवन भट्टराई र नेपाल शिक्षक महासङ्घ कचनकवलका अध्यक्ष मोहन प्रसाद राजवंशीले शुभकामना मन्तव्य राखेका थिए। आयोजक विद्यालयका विद्यार्थीले दुईवटा नृत्यसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको औपचारिक समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले प्रतियोगितामा सहभागी विद्यार्थी, विद्यालय तथा प्रायोजक CBI प्रति धन्यवाद व्यक्त गरे।
AI अब केवल प्रविधिको विषय मात्र नभई शिक्षण, सिकाइ, सिर्जनशीलता र भविष्यको रोजगारीसँग प्रत्यक्ष जोडिँदै गएको अवस्थामा विद्यार्थी तहबाटै यसको अवसर र चुनौतीबारे विमर्श सुरु हुनु कचनकवलको शैक्षिक अभ्यासमा महत्वपूर्ण कदमका रूपमा देखिएको छ।




















