झापा, सुकुनाडिगी - आधारभूत आवश्यकता मानिएको शुद्ध खानेपानीमा पहुँच विस्तार गर्ने उद्देश्यले कचनकवल-२ मा उदाहरणीय सामाजिक पहल गरिएको छ। स्थानीय समाजसेवीहरूको सक्रियतामा असाहाय तथा विपन्न नागरिकका घरघरमा निशुल्क खानेपानीको धारा जडान गरिएको हो।

यस अभियानअन्तर्गत असाहाय टिकादेवी सत्यालको घरमा समाजसेवी चित्र बहादुर थापा र किशोर भुषालले निशुल्क धारा जडान गरिदिएका छन्। त्यस्तै, सोही वडाका अनिता बुढाथोकी र मनमाया तामाङको घरमा पनि चित्र बहादुर थापा र कौशिला देवी कटुवालले निशुल्क खानेपानी सुविधा पुर्‍याइएको छ।

स्थानीय स्तरमा दीर्घकालीन समाधानतर्फ उन्मुख हुँदै थापाले सुकुनाडिगी खानेपानी उपभोक्ता समितिलाई ६ कट्ठा जग्गा समेत निशुल्क दान गरेका छन्। उनको यो योगदानले समुदायलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने अभियानलाई थप मजबुत बनाएको छ।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएका थापा जस्ता दाताहरूको योगदानले विपन्न नागरिकहरूलाई आधारभूत अधिकारबाट वञ्चित हुन नदिन महत्वपूर्ण भूमिका खेलेको छ।

यसै सन्दर्भमा वडाध्यक्ष लेखनाथ खत्रीले यस्ता महान् कार्यको उच्च प्रशंसा गर्दै सामाजिक रूपान्तरणमा दाताहरूको भूमिकालाई प्रेरणादायी बताएका छन्। उनले समुदायमा समान पहुँच र अवसर सुनिश्चित गर्न यस्ता पहलहरू अझै विस्तार हुनुपर्ने आवश्यकता औँल्याए।

स्थानीय तहमा देखिएको यस्तो सहकार्य र परोपकारी भावनाले सामाजिक एकता सुदृढ बनाउँदै समावेशी विकासतर्फ महत्वपूर्ण संकेत दिएको छ।