कुनै पनि सभ्य समाजको वास्तविक उन्नति सडक, भवन, बजार वा आर्थिक सूचकाङ्कले मात्र मापन हुँदैन। समाज कति सभ्य छ भन्ने कुरा त्यहाँका बालबालिका कति सुरक्षित छन् भन्ने तथ्यले निर्धारण गर्छ। जब एउटा ११ वर्षीया बालिका आफूमाथि भएको यौन दुराचारको पीडा आमासँग सुनाउन बाध्य हुन्छे, तब त्यो केवल एउटा परिवारमाथिको आक्रमण हुँदैन; त्यो सम्पूर्ण समाजको नैतिकतामाथिको प्रश्न हो।

कचनकवल-६, बनियानीमा घटेको घटनाले फेरि एकपटक स्मरण गराएको छ कि यौन दुराचारीहरू कुनै निश्चित रूप, पहिचान वा सामाजिक आवरणमा सीमित हुँदैनन्। उनीहरू कहिलेकाहीँ सम्मानित देखिने अनुहारभित्र, व्यवसायीको परिचयभित्र, छिमेकीको विश्वासभित्र वा समाजले भरोसा गरेको व्यक्तित्वभित्र लुकेका हुन सक्छन्। त्यसैले अपराधको मूल्याङ्कन गर्दा अपराधीको जात, धर्म, राजनीतिक आस्था, आर्थिक हैसियत वा सामाजिक सम्बन्ध हेर्ने होइन, उसको कार्य हेर्नुपर्छ। अपराधीको एउटै परिचय हुन्छ-ऊ अपराधी हो।

यस घटनाको अर्को महत्त्वपूर्ण पक्ष भनेको पीडित बालिकाले आफ्नी आमासँग आफ्नो पीडा साझा गर्न सक्नु हो। धेरै यौन दुराचारका घटनाहरू वर्षौंसम्म सार्वजनिक हुँदैनन्। कारण, बालबालिकामा डर हुन्छ; परिवारमा विश्वासको वातावरण हुँदैन; समाजले पीडितलाई नै दोषी ठहर गर्ने प्रवृत्ति राख्छ। तर जब अभिभावक आफ्ना छोराछोरीका लागि केवल संरक्षक मात्र नभई साथी बन्न सक्छन्, तब बालबालिकाले मनभित्रको पीडा लुकाउनुपर्दैन। उनीहरूले अन्यायको विरुद्ध बोल्न साहस जुटाउँछन्। यही साहस न्यायको पहिलो ढोका हो।

हामीले बारम्बार देखेका छौँ-अपराधीलाई जोगाउन अनेक प्रयास हुन्छन्। कसैले सम्बन्धको नाममा, कसैले राजनीतिक पहुँचको नाममा, कसैले आर्थिक प्रभावको नाममा र कसैले सामाजिक प्रतिष्ठाको नाममा अपराधलाई ढाकछोप गर्न खोज्छन्। तर कुनै पनि समाज अपराधीको संरक्षणबाट सुरक्षित बन्दैन; बरु अपराधीलाई कानुनी कठघरामा उभ्याउँदा मात्र सुरक्षित बन्छ। अपराधमाथि मौनता अपराधकै सहयोगी हो। अपराधीलाई बचाउन खोज्ने प्रत्येक प्रयासले अर्को निर्दोष बालबालिकालाई जोखिमतर्फ धकेलिरहेको हुन्छ।

बाल यौन दुराचार केवल कानुनी अपराध मात्र होइन, यो मानवताको विरुद्धको गम्भीर आक्रमण हो। यसले बालबालिकाको आत्मविश्वास, मानसिक स्वास्थ्य, भविष्यप्रतिको दृष्टिकोण र जीवनको आधारभूत सुरक्षाबोधलाई तहसनहस बनाउँछ। त्यसैले यस्ता घटनालाई सामान्य समाचारका रूपमा होइन, सामाजिक चेतनाको विषयका रूपमा लिन आवश्यक छ।

आज आवश्यकता पीडितको पक्षमा उभिने साहसको हो, अपराधीको पक्षमा बहाना खोज्ने प्रवृत्तिको होइन। आवश्यकता बालबालिकालाई चुप लाग्न सिकाउने होइन, अन्यायको विरुद्ध बोल्न सिकाउने हो। आवश्यकता अभिभावक, विद्यालय, समुदाय र राज्यबीचको साझा जिम्मेवारीबोधको हो।

यदि हामी साँच्चै असल नागरिक र सभ्य समाज निर्माण गर्न चाहन्छौँ भने एउटा कुरा स्पष्ट बुझ्नुपर्छ-अपराधीको न जात हुन्छ, न धर्म, न पार्टी, न पेशा। उसको परिचय केवल उसको अपराधले निर्धारण गर्छ। र सभ्य समाजको परिचय अपराधीलाई संरक्षण गर्नु होइन, पीडितलाई न्याय दिलाउनु हो।

बालिकाको आँसु केवल एउटा परिवारको दुःख होइन; त्यो सम्पूर्ण समाजको ऐना हो। प्रश्न अब एउटै छ-हामी त्यो ऐनामा आफ्नो वास्तविक अनुहार हेर्न तयार छौँ कि छैनौँ ?