झापा । कोशी प्रदेशभित्र रहेका गायन तथा नृत्य क्षेत्रका प्रतिभा पहिचान गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘Koshi Singing and Dancing Star 2026’ को लोक तथा सांस्कृतिक चरण शनिबार इटहरीमा सम्पन्न भएको छ।
प्रदेशका विभिन्न स्थानमा सम्पन्न छनोट चरण पार गर्दै इलाम, गाइघाट, खाँदबारी, बिर्तामोड, विराटनगर र इटहरीबाट छनोट भएका तथा यसअघि सम्पन्न Mega Audition र Face off चरण पार गरेका ३० जना प्रतिस्पर्धीले लोक तथा सांस्कृतिक चरणमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
यसै प्रतिस्पर्धामा खोटाङमा जन्मिएर नेपालको होचो भूभाग कचनकवललाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका शिक्षक पेशल भट्टराई पनि सहभागी थिए। शिक्षण पेशासँगै गायनप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएका भट्टराईले ३० प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट २५ भित्र स्थान बनाउँदै अर्को चरणमा प्रवेश गर्न सफल भएका छन्।
भट्टराई लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन्। विद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्वको जिम्मेवारी सम्हाल्दै आएका उनी पेशागत व्यस्तताबीच पनि आफ्नो सिर्जनात्मक रुचिलाई जीवित राख्ने प्रयासमा छन्।
गायनप्रतिको रुचि र त्यसबाट प्राप्त प्रेरणाले आफूलाई प्रतिस्पर्धाको मञ्चसम्म ल्याएको बताउने भट्टराईका लागि यो सहभागिता केवल व्यक्तिगत प्रतिभा प्रदर्शनको अवसर मात्र नभई शिक्षण पेशासँगै कलात्मक अभिरुचिलाई निरन्तरता दिन सकिन्छ भन्ने एउटा उदाहरणका रूपमा समेत देखिएको छ।
शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका एक शिक्षकको रियालिटी शोमा सहभागिता र अर्को चरणसम्मको यात्राले पेशा र प्रतिभा एकअर्काका परिपूरक हुन सक्छन् भन्ने सन्देशसमेत दिएको छ। अब भट्टराईको यात्रा आगामी चरणमा उनको गायन प्रतिभा र प्रस्तुतिको निरन्तरताले निर्धारण गर्नेछ।




















