झापा । उपभोक्ता हितविपरीत गतिविधि गरेको भन्दै झापामा पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले भदौ २० देखि असोज २८ गतेसम्म सञ्चालन गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तुको बिक्री-वितरण र अस्वाभाविक मूल्य निर्धारणलगायतका गतिविधि भेटिएपछि सम्बन्धित व्यवसायीमाथि कारबाही गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइएको छ । उनका अनुसार म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री गर्ने र चाडपर्वको मौका छोपी अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिनेछ ।

“बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिएका छौँ । म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा चाडबाडको मौका छोपी अस्वाभाविक मूल्य लिने व्यवसायीलाई कारबाही गर्छौं,” पोखरेलले भने, “उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि व्यवसायी तथा सरोकारवाला सबै जिम्मेवार हुन आवश्यक छ ।”

प्रशासनका अनुसार उक्त अवधिमा जिल्लाका १३४ फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु दुई लाख ४० हजार ४४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ । एक व्यवसायीलाई भने सचेत गराइएको छ ।

कारबाहीमा पर्नेमा म्याद गुज्रिएको गाईको दाना बिक्री-वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्स छन् । दुवैलाई जनही रु दुई लाख जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

त्यस्तै, अखाद्य अमिलो पदार्थ बिक्री-वितरण गरेको भन्दै श्रीराम अमिलो भण्डार र आवश्यक इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गरेको भन्दै कमल आइस उद्योगलाई जनही रु ५० हजार जरिवाना गरिएको छ ।

बनियानीस्थित ॐशान्ति मिष्ठान्न भण्डारलाई रु १५ हजार जरिवाना गरिएको छ । यस्तै, दमक-१ स्थित मुना स्टोर्सलाई सचेत गराइएको प्रशासनले जनाएको छ ।

बजार अनुगमनका क्रममा देखिएका यी कारबाहीले उपभोक्ताको स्वास्थ्य, गुणस्तरीय वस्तुको उपलब्धता र उचित मूल्य निर्धारणलाई बजार व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा पुनः उजागर गरेको छ । विशेषगरी चाडपर्वको समयमा बजारमा वस्तुको माग बढ्ने भएकाले व्यवसायीको जिम्मेवारी र नियमनकारी निकायको निगरानी दुवै थप महत्वपूर्ण हुने देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षणका लागि आकस्मिक बजार निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै, बजारलाई उपभोक्तामैत्री बनाउन व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको कार्यालयले जनाएको छ ।