झापा - लागूऔषध नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै प्रहरीले मेचीनगरबाट एक युवालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत २४ गते दिउँसो करिब १५:३० बजेको समयमा झापाको मेचीनगर नगरपालिका-६, संगिता टोल क्षेत्रमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका एक युवामाथि निगरानी बढाएको थियो।

प्रहरीले गरेको शरीर तलासीका क्रममा कमल गाउँपालिका-६ निवासी २४ वर्षीय नवराज भट्टराईको साथबाट प्लाष्टिक बाहेक करिब ६ ग्राम ७५० मिलिग्राम तौल भएको खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको जनाइएको छ।

बरामद गरिएको पदार्थसहित उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध ओसारपसार तथा दुर्ब्यसन नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइनेछ, जसले समाजमा फैलिँदै गएको लागूऔषध दुरुपयोगविरुद्ध कडा सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।