झापा (हल्दिबारी) । ग्रामीण भूगोलमा सक्रिय सञ्चारकर्मीहरूलाई एउटै संस्थागत मञ्चमा संगठित गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धन, स्थानीय सवालको सामूहिक उठान तथा सञ्चारकर्मीबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले स्थापित ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ।

हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिका क्षेत्रभित्र कार्यरत सञ्चारकर्मीहरूको साझा संगठनका रूपमा विकसित हुँदै गएको क्लबले ग्रामीण समाजका मुद्दालाई सञ्चारको मूलधारमा प्रभावकारी रूपमा उठान गर्ने तथा स्थानीय पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउने लक्ष्य अघि सारेको छ।

हल्दिबारी गाउँपालिका-२ स्थित रेडक्रस सामुदायिक भवनमा आइतबार सम्पन्न अधिवेशनले नेत्र विक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा रत्न कुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला रहेका छन्।

ग्रामीण क्षेत्रमा पत्रकारिताको अभ्यास गरिरहेका सञ्चारकर्मीलाई साझा संस्थागत संरचनामा आबद्ध गराउँदै स्थानीय मुद्दाको खोज, तथ्यमा आधारित समाचार सम्प्रेषण, पत्रकारिताको व्यावसायिक मर्यादा र सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले क्लबलाई अघि बढाउने अपेक्षा गरिएको छ।Screenshot_2026-11-01-18-34-36-487_com.miui.gallery-edit

हल्दिबारी, कचनकवल र बाह्रदशीको ग्रामीण भूगोलमा उठ्ने सामाजिक, आर्थिक, विकास, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सरोकारका विषयलाई साझा सञ्चार एजेन्डाका रूपमा अघि बढाउन क्लबको भूमिका महत्वपूर्ण हुने देखिएको छ।

अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि रेम खरेलको संयोजकत्वमा लिलाराज झापाली र गोपाल पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। सोही समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरेको हो।

​अधिवेशनको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष विमलीले वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले ग्रामिण भेगका सञ्चारकर्मीहरूलाई संगठित गर्दै व्यावसायिक, उत्तरदायी र तथ्यमा आधारित पत्रकारितामा जोड दिइने बताए।

​कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले ग्रामिण भेगका ओझेलमा परेका मुद्दा र नागरिकका आवाजलाई सञ्चारमाध्यममा ल्याउन स्थानीय सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

​यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले ग्रामिण पत्रकारितालाई थप प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै क्लबले सञ्चारकर्मीहरूको क्षमता विकास र पेशागत हकहितका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरे।

​कार्यक्रममा नेपाली मौलिक पहिचान र संस्कृतिको प्रवर्द्धन स्वरूप अतिथिहरूलाई ढाका टोपी र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

​कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडाध्यक्ष देवी बहादुर थापा, हल्दिबारी वडा नं-२ वडा सदस्य रचना कुलुङ्ग राई ,झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनाली, हल्दिबारी उद्योग  वाणिज्य संघका महासचिव कृष्ण प्रसाईं ,नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा सभापति कर्णखर प्रसाईं ,युवा व्यवसायीहरु एकराज मगर ,असिम मैनाली ,पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे ,बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापा संयोजक सरोज पौडेल ,पत्रकार महासंघ झापाका सदस्य देवेन्द्र प्रसाईं , लगायत विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो। उपाध्यक्ष प्रितम कुमार धमलाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन सचिव अभिषेक खतिवडाले गरेका थिए।



​