बनियानी, झापा । कचनकवल गाउँपालिका र नेपाल लेप्रोसी फेलोसिप (NLF) को सहकार्यमा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कुष्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कचनकवल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जागेश्वरप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा यादवले कुष्ठरोगको पहिचान, उपचार र नियन्त्रणका लागि सरकारी तथा निजी स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा डा. दिपेन राजवंशीले सहभागी स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगका लक्षण, प्रारम्भिक पहिचान, निदान तथा उपचारसम्बन्धी विषयमा क्लिनिकल कक्षा सञ्चालन गर्नुभयो। उहाँले स्वास्थ्य संस्थामा आउने सम्भावित बिरामीको समयमै पहिचान गरी आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मीहरूको व्यावहारिक ज्ञान महत्वपूर्ण हुने विषयमा प्रशिक्षण दिनुभयो।
त्यस्तै, पब्लिक हेल्थ इन्स्पेक्टर (PHI) नवीन मिश्रले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। उहाँले अभिमुखीकरणको उद्देश्य, स्वास्थ्यकर्मीहरूको भूमिका तथा कुष्ठरोग नियन्त्रणका लागि स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यको आवश्यकताबारे कार्यक्रमलाई सहजीकरण गर्नुभयो।
कार्यक्रममा कचनकवल गाउँपालिकाका कुष्ठरोग फोकल पर्सन घनश्याम यादवले नेपालमा कुष्ठरोगको वर्तमान अवस्था तथा कचनकवल गाउँपालिकामा कुष्ठरोगको अवस्थाबारे सहभागीलाई जानकारी गराउनुभयो। उहाँले कुष्ठरोगको समयमै पहिचान र उपचारका साथै रोगसम्बन्धी भ्रम तथा सामाजिक भेदभाव न्यूनीकरणमा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
कुष्ठरोगलाई समयमै पहिचान गरी उचित उपचारमा ल्याउन सके यसको जटिलता न्यूनीकरण गर्न सकिने भएकाले समुदायको पहिलो सम्पर्कमा रहने स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिलाई कार्यक्रमले प्राथमिकतामा राखेको थियो।
निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कुष्ठरोगसम्बन्धी ज्ञान, सीप तथा व्यावहारिक क्षमता प्रदान गर्दै रोगको प्रारम्भिक पहिचान, उचित उपचार तथा आवश्यक रेफरल प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो।
स्थानीय तह, सरकारी तथा निजी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीचको समन्वयलाई थप मजबुत बनाउँदै कचनकवलमा कुष्ठरोग नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।




















