झापा । विपद्का बेला सहयोगको मूल्य रकमको आकारले होइन, त्यसमा निहित मानवीय संवेदनाले निर्धारण गर्छ भन्ने उदाहरण कचनकवल-२ (सुकुनाडिगी) प्रस्तुत गर्दै लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय (लप्रदे मावि) का विद्यार्थीहरूले रसुवाका बाढीपीडितका लागि रु. ५,०१० सहयोग गरेका छन्।
रसुवामा बाढीका कारण प्रभावित विद्यार्थीहरूको शैक्षिक निरन्तरता तथा अध्ययनका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालय क्याप्टेन आयुसा अधिकारीका अनुसार विद्यार्थीहरूले आफ्नो दैनिक खाजाका लागि छुट्याइएको रकमबाट कटौती गरी सहयोग रकम जुटाएका हुन्। विपद्का कारण अध्ययनमा प्रभावित आफ्नै उमेर समूहका विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले सहयोग गरेका हुन्।
सानो उमेरमै विद्यार्थीहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई विद्यालयका प्रधानाध्यापक पेशल भट्टराईले उदाहरणीय कार्यका रूपमा लिनुभएको छ। उहाँका अनुसार, “सहयोगको वास्तविक मूल्य रकममा होइन, त्यसका पछाडि रहेको भावना र सद्भावमा हुन्छ।” विद्यार्थीहरूले आफ्ना साना आवश्यकतासमेत कटौती गरेर गरेको सहयोगले मानवीय सेवाको अर्थलाई अझ गहिरो बनाएको उहाँको भनाइ छ।
करोडौँ रुपैयाँ बराबरको आर्थिक सहयोगभन्दा पनि आफ्नो खाजा खर्चबाट बचाएको रकम पीडितका लागि छुट्याउने बालमनको संवेदना आफैँमा अनुकरणीय सन्देश हो। यसले विपद्का बेला सहयोग गर्न आर्थिक रूपमा सम्पन्न हुनुपर्छ भन्ने मान्यतालाई समेत चुनौती दिँदै ‘सक्नेले धेरै, नसक्नेले आफ्नो सामर्थ्यअनुसार’ भन्ने मानवीय संस्कारलाई स्थापित गरेको छ।
विद्यार्थीहरूको यो पहलले राहत सहयोगलाई केवल आर्थिक दायित्वका रूपमा नभई सामाजिक उत्तरदायित्व, सहानुभूति र मानवीय ऐक्यबद्धताको अभ्यासका रूपमा स्थापित गरेको छ। बालबालिकाको यस्तो संस्कारले भविष्यको समाजलाई अझ संवेदनशील र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
















