बनियानी । प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारी भूगोलको सीमाभन्दा माथि हुन्छ भन्ने सन्देश दिँदै कचनकवल गाउँपालिकाले बाढीपहिरो पीडितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि २९ लाख ६ हजार १ सय रुपैयाँ सहयोग जुटाएको छ।

गाउँपालिकाले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा आएको अप्रत्याशित बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम सहयोग संकलन गरेको हो।

उक्त रकममध्ये कचनकवल गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ, जनप्रतिनिधिहरूबाट ७१ हजार रुपैयाँ, सम्पूर्ण कर्मचारीबाट ९ लाख २२ हजार ५ सय २४ रुपैयाँ तथा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीबाट १८ लाख १२ हजार ५ सय ७६ रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ।

यसरी हेर्दा गाउँपालिकाको राहत अभियानमा शिक्षक तथा कर्मचारीको योगदान सबैभन्दा ठूलो देखिन्छ, जसले विपत्तिका बेला सार्वजनिक सेवामा आबद्ध जनशक्तिको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।

गाउँपालिकाले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको शीघ्र स्वास्थ्यलाभ र विस्थापितहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमार्फत गाउँपालिकाले सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत आ-आफ्नो क्षेत्रबाट पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ।

स्थानीय आवश्यकता र सीमित स्रोतका बीच आफ्ना नागरिक मात्र होइन, देशका अन्य भूभागमा विपत्तिमा परेका नेपालीका लागि समेत हातेमालो गर्नु कचनकवल गाउँपालिकाको मानवीय दृष्टिकोणको सकारात्मक उदाहरणका रूपमा लिन सकिन्छ। संकटको घडीमा आर्थिक सहयोगसँगै ऐक्यबद्धता, संवेदना र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने कचनकवलको यो पहलले स्थानीय सरकारको भूमिकालाई विकास निर्माणभन्दा पर मानवीय सेवासँग समेत जोडेको छ।