झापा । सडक पुगेन, हेलिकोप्टर पुग्न कठिन भयो वा बाढीले पुल-बाटो नै बगायो भने विपद् प्रभावितसम्म राहत पुर्याउने परम्परागत माध्यमको विकल्प अब आकाश बन्ने भएको छ। नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत सामग्री वितरण तथा आवश्यक परे मृतकको शव खोजी र संकलन कार्यलाई थप प्रभावकारी बनाउन ठूला क्षमताका ड्रोन परिचालन गर्ने तयारी गरिएको छ।
यस अभियानमा चीनको सहयोगमा प्राप्त चारवटा DJI FlyCart 100 ड्रोन तयारी अवस्थामा राखिएका छन्। कठिन भौगोलिक क्षेत्रमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित र छोटो समयमा पुर्याउन यी ड्रोन प्रयोग गरिनेछन्। अभियान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को Disaster Unit सँगको समन्वयमा सञ्चालन गरिने जनाइएको छ।
यस प्राविधिक उद्धार अभियानमा झापाको भद्रपुर नगरपालिका-१, पृथ्वीनगरका अनिल प्रधानले महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन्। ड्रोन प्रविधि, रोबोटिक्स तथा सामाजिक उपयोगका प्रविधिमा लामो समयदेखि सक्रिय प्रधानका लागि यो जिम्मेवारी नयाँ भए पनि विषय भने नयाँ होइन।
प्रधानले यसअघि नै स्थानीय समस्याको प्राविधिक समाधान खोज्ने क्रममा जङ्गली हात्ती व्यवस्थापनका लागि ‘साइरन ड्रोन’ निर्माण गरी प्रयोग गरेका थिए। भद्रपुर क्षेत्रमा गरिएको उक्त प्रविधिको परीक्षण सफल भएको र वन कार्यालय तथा स्थानीय तहबाट समेत त्यसको प्रयोगलाई समर्थन गरिएको थियो।
त्यसैगरी प्रधानलाई विज्ञान, प्रविधि तथा रोबोटिक्समा रुचि राख्ने युवा आविष्कारकका रूपमा Glocal’s 20under20 मा समेत समेटिएको थियो। उहाँले ‘थर्ड आई’ स्मार्ट ग्लास, रोबोटिक्स, होम अटोमेसन तथा वन्यजन्तु व्यवस्थापनसँग सम्बन्धित प्रविधिमा काम गरेका छन्।
पछिल्लो समय प्रधान र उनको टोलीले नेपालको भौगोलिक अवस्था तथा विपद्को प्रकृतिलाई ध्यानमा राखेर विपद् उद्धार तथा राहतका लागि ड्रोन प्रविधि विकास र प्रयोग गरिरहेका छन्।
अब भने व्यक्तिगत आविष्कार र प्रयोगको सीमाबाट बाहिर निस्किएर त्यही प्राविधिक दक्षता राष्ट्रिय विपद् व्यवस्थापनको काममा प्रत्यक्ष उपयोग हुने चरणमा पुगेको छ।
बाढी, पहिरो वा अन्य विपद्का कारण सडक सञ्जाल विच्छेद हुँदा राहत सामग्री बोकेर मानिस वा सवारी साधनलाई जोखिमपूर्ण क्षेत्रमा पठाउनुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा भारी क्षमताका कार्गो ड्रोनले मानवीय जोखिम घटाउँदै प्रभावित बस्तीको अन्तिम बिन्दुसम्म राहत पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
विशेषगरी खाद्यान्न, औषधि, पानी तथा अत्यावश्यक सामग्री पुर्याउनेदेखि प्रभावित क्षेत्रमा खोज तथा निगरानी र आवश्यक अवस्थामा शव खोजी तथा संकलनमा समेत ड्रोन प्रविधिको उपयोग गर्ने योजना यस अभियानको महत्वपूर्ण पक्ष हो।
नेपालमा विपद्का बेला ड्रोनको प्रयोगको सम्भावना यसअघि पनि देखिइसकेको छ। पछिल्ला विपद् घटनामा दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा कार्गो ड्रोन परीक्षण र प्रयोगसम्बन्धी गतिविधि अघि बढेका छन्।
यसले विपद् व्यवस्थापनमा प्रविधिको भूमिकालाई केवल ‘दृश्य खिच्ने उपकरण’को सीमाबाट माथि उठाएर जीवनरक्षा, राहत वितरण र खोज तथा उद्धारको रणनीतिक साधनका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ।
पृथ्वीनगरका प्रधानका लागि पनि यो जिम्मेवारी एउटा व्यक्तिको प्राविधिक यात्राभन्दा फराकिलो अर्थ राख्छ। स्थानीय समस्याबाट प्रविधिको खोज सुरु गरेका एक युवा आविष्कारकको सीप अहिले राष्ट्रिय विपद्को कठिन घडीमा प्रयोग हुने अवसर पाउनु स्थानीय प्रतिभा र राष्ट्रिय आवश्यकताबीचको सार्थक जोड हो।
विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग अब विकल्प होइन, आवश्यकता बन्दै गएको छ। संकटको समयमा जमिनबाट पुग्न नसकेको राहत आकाशबाट प्रभावितको हातसम्म पुर्याउने जिम्मेवारीमा झापाका अनिल प्रधानको प्राविधिक यात्राले नयाँ अध्याय थपेको छ।




















