बनियानी । धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्दै विष्णु लक्ष्मी शिव पाञ्चायन मन्दिर समिति, रामगढीले भजन-कीर्तनबाट संकलित २० हजार २ रुपैया भेटी रकम भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रदान गरेको छ।
समितिले मन्दिरमा भक्तजनबाट संकलित उक्त भेटी रकमलाई धार्मिक प्रयोजनमा मात्र सीमित नराखी विपद्मा परेका नागरिकको जीवनरक्षाका लागि उपयोग गर्ने निर्णय गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएको हो।
प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहेका बेला धार्मिक संस्थाले आफ्नो सामाजिक दायित्वसमेत आत्मसात् गर्दै सहयोगलाई मानवीय सेवासँग जोड्नु अनुकरणीय पहल भएको समितिले जनाएको छ।
भजन–कीर्तनमा सहभागी भक्तजनको आस्था र योगदानबाट संकलित रकम बाढीपीडितको राहत तथा उद्धारमा समर्पित गर्नुले धर्म केवल पूजा-आराधनामा सीमित नभई दुःखमा परेका मानिसप्रतिको करुणा, सहयोग र सेवामा समेत अभिव्यक्त हुनुपर्ने सन्देश दिएको छ।
समितिको यो पहलले विपद्का समयमा स-साना योगदानसमेत एकीकृत हुँदा पीडित नागरिकलाई राहत पुर्याउन महत्वपूर्ण आधार बन्न सक्ने देखाएको छ।


















