बनियानी । नेपालकै होचो भुमि भनेर चिनिने झापाको दक्षिणी गाउँपालिका कचनकवल-६, बनियानीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी रसुवा बाढीपीडितको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रु. १० हजार ४० आर्थिक सहयोग गरेका छन्।
विद्यालयको लक्ष्मी मावि बाल क्लबको अगुवाइमा विद्यार्थीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो।
बाल क्लबका प्रतिनिधि कृति सिटौला र प्रतिमा तामाङले संकलित रकम विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेतलाई हस्तान्तरण गरेका थिए।
विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम कटाएर विपदमा परेका नागरिकका लागि सहयोग जुटाउनु मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र बालबालिकामा विकसित हुँदै गएको सहयोगी संस्कारको प्रेरणादायी उदाहरण बनेको छ।



















