झापा । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रमलाई थप समावेशी, जनमुखी र आवश्यकता-आधारित बनाउने उद्देश्यसहित कचनकवल गाउँपालिकाले राजनीतिक दलहरूसँग सर्वदलीय छलफल सम्पन्न गरेको छ। बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित उक्त छलफललाई स्थानीय सरकार र राजनीतिक दलबीचको सहकार्य तथा सहभागितामूलक शासनको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफलमा नेपाली काँग्रेसका तर्फबाट केशव लामिछाने, नेकपा (एमाले) का तर्फबाट दुर्गा थापा, नेकपाका तर्फबाट किरण सुब्बा, श्रम संस्कृति पार्टीका तर्फबाट अमृत बहादुर राई, जनता समाजवादी पार्टीका तर्फबाट कवीर राजवंशी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धनवीर तामाङले सहभागिता जनाएका थिए।

छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले गाउँपालिकाले पछिल्ला वर्षहरूमा जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका विकास र सेवा प्रवाहका कार्यहरू अघि बढाएको उल्लेख गर्दै सुरु गरिएका योजनाहरूलाई पूर्णता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार तथा सामाजिक सुरक्षा जस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूलाई आगामी बजेटमा उच्च प्राथमिकता दिन सुझाव दिएका थिए।

प्रतिनिधिहरूले बजेट वितरणमा सन्तुलन, विकासका अवसरहरूको न्यायोचित पहुँच तथा दीर्घकालीन प्रभाव पर्ने योजनाहरूलाई केन्द्रमा राख्न आग्रह गरेका थिए। साथै स्थानीय आवश्यकतामा आधारित योजनामार्फत नागरिकको जीवनस्तर उकास्ने गरी बजेट निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले बजेट निर्माण प्रक्रियामा राजनीतिक दलहरूको सुझावलाई महत्व दिनु लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण भएको बताउनुभयो। उहाँले स्थानीय सरकार कुनै एक पक्षको नभई सम्पूर्ण नागरिकको साझा संस्था भएकाले विकास र समृद्धिको यात्रामा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष राजवंशीले भन्नुभयो, "बजेट निर्माण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, जनताको अपेक्षा र आवश्यकतालाई नीतिमा रूपान्तरण गर्ने माध्यम हो। त्यसैले राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाहरूबाट प्राप्त सकारात्मक तथा रचनात्मक सुझावहरूलाई गाउँपालिकाले गम्भीरतापूर्वक ग्रहण गर्नेछ।"

त्यस्तै गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नवराज भट्टराईले सर्वदलीय छलफलले आगामी बजेटलाई अझ व्यवहारिक, उत्तरदायी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणका सवालमा राजनीतिक मतभिन्नता भन्दा पनि साझा लक्ष्य र जनहितलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो।

उपाध्यक्ष भट्टराईले भन्नुभयो, "स्थानीय सरकारको सफलताको आधार नागरिकको विश्वास र सहभागिता हो। सबै राजनीतिक दलसँग सुझाव माग्दै बजेट निर्माण प्रक्रियामा सहभागी गराउनु स्थानीय लोकतन्त्रलाई बलियो बनाउने सकारात्मक अभ्यास हो।"

स्थानीय तहमा बजेट निर्माणअघि राजनीतिक दलहरूसँग औपचारिक रूपमा सुझाव संकलन गर्ने अभ्यास अझै सीमित रहेको अवस्थामा कचनकवल गाउँपालिकाले सर्वदलीय छलफलमार्फत सहभागितामूलक शासनको उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूको बुझाइ छ। विकासका मुद्दामा राजनीतिक सहकार्यलाई प्राथमिकता दिँदै आगामी बजेटलाई साझा प्रतिबद्धताको दस्तावेज बनाउने गाउँपालिकाको प्रयासलाई स्थानीय लोकतन्त्रको परिपक्व अभ्यासका रूपमा समेत हेरिएको छ।

आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा आयोजित यो सर्वदलीय छलफलले कचनकवल गाउँपालिकाले पारदर्शिता, सहभागिता र सहमतिमूलक विकासको मार्ग रोजेको स्पष्ट संकेत दिएको छ। जनप्रतिनिधि, राजनीतिक दल र नागरिकको साझा अपेक्षालाई समेटेर बजेट निर्माण गर्ने गाउँपालिकाको यो पहल स्थानीय शासन व्यवस्थामा एक ऐतिहासिक र अनुकरणीय अभ्यास बन्न सक्ने विश्वास गरिएको छ।