कचनकवल । मोरङको लेटाङमा भएको दर्दनाक मोटरसाइकल दुर्घटनामा झापा कचनकवलका दुई युवाको ज्यान गएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्। दुर्घटनाले दुई परिवारमा अकालमै बज्रपात ल्याएको छ भने कचनकवलमा समेत शोकको वातावरण सिर्जना भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ आउँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल लेटाङ नगरपालिका-९ स्थित हात्ती चोकको भित्री सडकखण्डमा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक झापा कचनकवल गाउँपालिका-१, घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली तथा मोरङ पथरीशनिश्चरे गाउँपालिका-८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

गम्भीर घाइते तीनै जनालाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर लगिएको थियो। तर उपचारकै क्रममा कुमार नेपालीलाई राति करिब १२ बजे र सन्देश नेपालीलाई त्यसको चार मिनेटपछि अर्थात् राति १२ः०४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक सन्देश नेपाली लेटाङमा सेफका रूपमा काम गर्दै आएका थिए। सामान्य दिनचर्याबाट सुरु भएको त्यो रात दुई परिवारका लागि भने जीवनकै सबैभन्दा पीडादायी रात बन्न पुग्यो।

दुर्घटनामा घाइते अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

एकै मोटरसाइकलमा यात्रा गरिरहेका तीनमध्ये दुई युवाले जीवन गुमाएका छन् भने एक जना अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका छन्। सडकमा भएको केही क्षणको दुर्घटनाले परिवार, आफन्त र समुदायलाई दीर्घकालीन पीडा दिएको छ।

घटनाबारे लेटाङ प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।