बनियानी । कचनकवल गाउँपालिकामा गरिब घरपरिवार पहिचान परिचयपत्र वितरणको तयारी अघि बढाइएको छ। संघीय मन्त्रालयबाट प्राप्त गरिब घरपरिवार पहिचान परिचयपत्रलाई रुजु तथा प्रमाणीकरण गरी सम्बन्धित लाभग्राहीलाई वितरण गर्ने प्रक्रिया गाउँपालिकाले अगाडि बढाएको हो।
मन्त्रालयबाट प्राप्त परिचयपत्रको आवश्यक रुजु कार्य सम्पन्न गरी वितरणका लागि तयारी थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले जानकारी दिनुभयो।
गरिबीको पहिचानलाई तथ्यमा आधारित बनाउँदै राज्यबाट उपलब्ध हुने लक्षित सेवा, सुविधा तथा सामाजिक संरक्षणका कार्यक्रमलाई वास्तविक लाभग्राहीसम्म पुर्याउने उद्देश्यले गरिब घरपरिवार पहिचान परिचयपत्रलाई महत्वपूर्ण आधारका रूपमा लिइन्छ।
परिचयपत्र वितरणसँगै गाउँपालिकामा गरिब तथा विपन्न परिवारको पहिचान थप व्यवस्थित हुने र लक्षित वर्गका लागि राज्यका कार्यक्रम कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ।




















