कचनकवल । सशस्त्र प्रहरी बल नेपाल, बीओपी केचनाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राजकुमार श्रेष्ठलाई बिदाइ गरिएको छ भने उहाँको स्थानमा सशस्त्र प्रहरी निरीक्षक निरज महतले प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको छ।
बीओपी केचनाको कार्यालय परिसरमा हिजो आयोजित कार्यक्रममा स्थानीय संघ-संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिकर्मी तथा स्वास्थ्यकर्मीको उपस्थितिमा निवर्तमान प्रमुख श्रेष्ठलाई बिदाइ तथा नवनियुक्त प्रमुख महतलाई स्वागत गरिएको हो।
कार्यक्रममा वडाध्यक्ष नुरजमा मियाँले श्रेष्ठको करिब ६ महिनाको कार्यकालमा केचना क्षेत्रमा शान्ति सुरक्षा, सीमा सुरक्षासँगै स्थानीय समुदायसँगको समन्वय र सहकार्यमा पुर्याउनुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। सीमावर्ती क्षेत्रमा सुरक्षा निकाय र स्थानीय समुदायबीचको सम्बन्धलाई व्यवहारिक रूपमा सुदृढ बनाउन श्रेष्ठले निर्वाह गरेको भूमिकाको समेत उहाँले प्रशंसा गर्नुभयो।
वडाध्यक्ष मियाँले नवनियुक्त प्रमुख महतलाई सफल कार्यकालको शुभकामना दिँदै सीमा सुरक्षा र स्थानीय शान्ति सुरक्षाका विषयमा समुदायसँगको संवाद, समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न आग्रह गर्नुभयो।
छोटो समयको कार्यकाल भए पनि श्रेष्ठले केचना क्षेत्रको सुरक्षा व्यवस्थापन तथा सीमावर्ती समुदायसँगको सम्बन्धमा देखाएको सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा स्मरण गरेका छन्। उहाँको बिदाइसँगै बीओपी केचनाले नयाँ नेतृत्वका रूपमा सशस्त्र प्रहरी निरीक्षक महतलाई पाएको छ।
स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्य सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि महत्वपूर्ण मानिन्छ। नयाँ नेतृत्वले यस सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउने अपेक्षा स्थानीयवासीले गरेका छन्।




















