बनियानी । कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले २२ महिनाको कार्यकाल पूरा गर्दै गाउँपालिकाबाट बिदाइ लिएका छन्। २०८३ असोज २६ गतेसम्म कचनकवलको प्रशासनिक नेतृत्व सम्हालेका पोखरेलले आफ्नो कार्यकाललाई सिकाइ, सहकार्य र केही महत्वपूर्ण उपलब्धि हासिल भएको समयका रूपमा स्मरण गरेका छन्।
कचनकवलमा हाजिर हुनुअघि आफूलाई यहाँको अवस्था सहज नभएको भन्दै अग्रजहरूले समेत नआउन सुझाव दिएको प्रसंग स्मरण गर्दै पोखरेलले आफू भने संस्थागत रूपमा समस्या नहुने विश्वासका साथ कचनकवल आएको बताउनुभयो।
उनले भने, “समुद्रमा हाम फालेपछि मात्रै गहिराइ थाहा हुन्छ। कचनकवलमा हाजिर भएपछि पनि आजसम्म समस्या के थियो र प्रमुख प्रशासकीय अधिकृतकै तहबाट सरुवा हुनुपर्ने अवस्था किन आउँथ्यो भन्ने कुरा मैले बुझ्न सकिनँ।”
उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरूबाट निरन्तर साथ र सहयोग प्राप्त भएकाले कार्यभार सम्हाल्ने क्रममा आफूले अपेक्षाकृत सहज वातावरण अनुभव गरे। प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वबीचको समन्वयले स्थानीय तहको सेवा प्रवाह तथा विकास निर्माणलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको पोख्रेलको भनाइ छ।
२२ महिनामा सडकदेखि ई-हाजिरीसम्म पोखरेलको कार्यकालमा गाउँपालिकामा करिब २५ किलोमिटर सडक कालोपत्रे गर्ने काम अघि बढाइएको उनले बताए। त्यस्तै, शिक्षकहरूको पारिश्रमिक मासिक रूपमा सिधै बैंक खातामा भुक्तानी गर्ने प्रणालीलाई व्यवस्थित गरिएको, आन्तरिक राजस्वसम्बन्धी कामका लागि भद्रपुर धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको पोख्रेलको दाबी छ।
खानेपानीका पाइपलाइन विस्तार, बेरुजु फर्छ्यौट, आधारभूत अस्पताल सञ्चालन तथा विद्यालयमा ई-हाजिरी प्रणालीको कार्यान्वयनलाई समेत उनले आफ्नो कार्यकालका महत्वपूर्ण कामका रूपमा प्रस्तुत गर्नुभयो।
त्यसैगरी, पशु उपचार केन्द्र सञ्चालन, वडा कार्यालय तथा पशु अस्पताल निर्माण, बजारको स्वरूप परिवर्तन र लामो समयदेखि अलपत्र रहेको कचनकवल स्तम्भसम्बन्धी रुग्ण योजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिनुभयो।
यी उपलब्धिलाई पोख्रेलले आफ्नो व्यक्तिगत उपलब्धिका रूपमा भन्दा पनि जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायबीचको सहकार्यको परिणामका रूपमा व्याख्या गर्नुभयो।
‘उपलब्धि कसैको एकल प्रयास होइन’पोखरेलले आफ्नो कार्यकालमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कर्मचारी र गाउँपालिकाका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो।
पोख्रेलले आफूले गरेका कामलाई ‘एक व्यक्तिको सफलता’ भन्दा पनि संस्थागत सहकार्य र सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका प्रशासनिक नेतृत्वमा मात्र सीमित हुँदैन। नीति तथा कार्यक्रमको कार्यान्वयन, आर्थिक अनुशासन, कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र विकास निर्माणबीच समन्वय कायम गर्ने जिम्मेवारीसमेत उसकै काँधमा हुन्छ। यही सन्दर्भमा पोख्रेलको २२ महिने कार्यकाललाई कचनकवलको प्रशासनिक अभ्यास र विकास व्यवस्थापनको एउटा चरणका रूपमा हेर्न सकिन्छ।
कचनकवलबाट बिदाइ हुँदै गर्दा पोखरेलले अब हुलाक सेवातर्फको नयाँ यात्रा सुरु गर्ने बताएका छन्। पद परिवर्तनसँगै जिम्मेवारीको क्षेत्र पनि फेरिँदै गर्दा उनले कचनकवलमा बिताएको २२ महिनालाई आफ्नो प्रशासनिक यात्राको महत्वपूर्ण सिकाइका रूपमा स्मरण गर्नुभयो।
कचनकवलको प्रशासनिक नेतृत्वमा पोख्रेलको कार्यकालले छाडेको प्रभाव भने अब सुरु हुने नयाँ नेतृत्वको कार्यशैली, निरन्तरता र संस्थागत परिणामबाट अझ स्पष्ट हुँदै जानेछ।




















