डा. सलिम अन्सारी । झापा जिल्लासहित कचनकवल, झापा गाउँपालिका, बह्रदशी लगायतका क्षेत्रमा हालै आएको तीव्र हावा–हुरी र वर्षाले मकै बालीमा उल्लेखनीय क्षति पुर्‍याएको छ। विशेषगरी दाना भर्ने संवेदनशील चरणमा रहेका बालीहरूमा अग्ला बोटहरू ढल्ने, जरा उखेलिने तथा उत्पादन क्षमतामा प्रत्यक्ष असर पर्ने समस्या व्यापक रूपमा देखिएको छ। प्रि-मनसुन अवधिमा यस प्रकारका प्राकृतिक घटना दोहोरिँदै जानु कृषकहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

यद्यपि, क्षतिको प्रमुख कारण प्राकृतिक हावाहुरी भए पनि केही व्यवस्थापकीय कमजोरीहरूले यसको प्रभाव अझ तीव्र बनाएको देखिन्छ। अत्यधिक नाइट्रोजन (युरिया) को प्रयोगले बोटलाई असन्तुलित रूपमा अग्लो र कमजोर बनाउने हुँदा हावाको दबाब सहन नसक्ने अवस्था सिर्जना हुन्छ। त्यसैगरी, माटोको अपर्याप्त व्यवस्थापन, पानी जम्ने अवस्था, अत्यधिक घना रोपाइँ, तथा समयमै माटो नचढाउने जस्ता अभ्यासहरूले जराप्रणाली कमजोर बनाउँदै बालीलाई थप जोखिममा पार्छन्। उपयुक्त जात छनोट नगर्नु र मौसमी चक्रअनुसार रोपाइँ नगर्नु पनि समस्या बढाउने कारक हुन्।

यस परिस्थितिमा सन्तुलित मल व्यवस्थापन अत्यन्त आवश्यक देखिन्छ। नाइट्रोजनसँगै फस्फोरस र विशेषगरी पोटासको समुचित प्रयोगले बोटको तना तथा जरालाई सुदृढ बनाउँछ। वैज्ञानिक ढङ्गले रोपाइँ गर्दा लाइन-लाइन ६०-७५ से.मी. तथा बोट-बोट २०-२५ से.मी. दूरी कायम गर्नु उपयुक्त मानिन्छ। बोट ३०-४० से.मी. उचाइ पुगेपछि माटो चढाउने (earthing up) अभ्यासले जरालाई मजबुत बनाउँदै बोटलाई स्थिरता प्रदान गर्छ। साथै, खेत वरिपरि रूख वा बाँस रोपेर हावा रोक्ने जैविक संरचना निर्माण गर्नु पनि दीर्घकालीन रूपमा प्रभावकारी उपाय हो।

त्यसैगरी, छोटो तना र बलिया संरचना भएका हावा-प्रतिरोधी मकैका जातहरूको छनोट तथा समयमै रोपाइँ गर्नु जोखिम न्यूनीकरणका प्रमुख उपायहरू हुन्। यदि बाली ढलेको अवस्थामा छ भने र बोट भाँचिएको छैन भने सावधानीपूर्वक उठाएर माटो थुपार्ने, खेतमा पानी जम्न नदिने तथा समुचित निकासको व्यवस्था गर्ने कार्य उपयोगी हुन सक्छ। कतिपय अवस्थामा बोट स्वाभाविक रूपमा पुनः सीधा हुने क्षमता पनि राख्छ।

अन्ततः, हावाहुरी जस्ता प्राकृतिक प्रकोपहरू पूर्ण रूपमा नियन्त्रण बाहिरका विषय भए तापनि वैज्ञानिक कृषि अभ्यास, सन्तुलित पोषण व्यवस्थापन र समयमै सचेतना अभिवृद्धिबाट क्षति न्यूनीकरण सम्भव छ। यसका लागि स्थानीय कृषि ज्ञान केन्द्र तथा प्राविधिकहरूसँग निरन्तर समन्वय र परामर्श अपरिहार्य देखिन्छ।