सुकुनाडिगी । झापाको दक्षिणी क्षेत्रमा गुणस्तरीय शिक्षाको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयले यस वर्षको शैक्षिक उपलब्धिमार्फत आफूलाई पुनः एकपटक अब्बल संस्थागत विद्यालयको रूपमा प्रमाणित गरेको छ। विद्यालयबाट सार्वजनिक गरिएको GPA आधारित उत्कृष्ट नतिजाले दक्षिण क्षेत्रकै शैक्षिक प्रतिस्पर्धामा स्वर्णिम शिक्षा सदन अग्रपंक्तिमा रहेको स्पष्ट संकेत दिएको छ।

यस वर्ष सार्वजनिक गरिएको नतिजाअनुसार विद्यालयका २६ जना विद्यार्थीमध्ये २५ जना सफल भएका छन् भने केवल १ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन्। समग्र उपलब्धिको आधारमा हेर्दा विद्यालयले हासिल गरेको नतिजा अत्यन्त प्रभावशाली मानिएको छ। विशेषतः ३.९६ GPA सम्मको उत्कृष्ट उपलब्धिले विद्यालयको शैक्षिक स्तर, अध्ययन संस्कार तथा व्यवस्थापन क्षमतालाई थप उचाइ दिएको अभिभावक तथा शिक्षा सरोकारवालाहरू बताउँछन्।
विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको उल्लेखनीय सफलता अनुशासित शैक्षिक वातावरण, नियमित मूल्यांकन प्रणाली, अनुभवी शिक्षक टोली तथा विद्यार्थीमैत्री सिकाइ पद्धतिको परिणाम भएको विश्लेषण गरिएको छ। ग्रामीण परिवेशमै रहेर आधुनिक शिक्षण अभ्यास, प्रविधिमैत्री पठनपाठन, अतिरिक्त क्रियाकलाप तथा नतिजामुखी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु विद्यालयको प्रमुख विशेषता बनेको छ।
विद्यालयका संस्थापक जीवन भट्टराईका अनुसार आगामी शैक्षिक सत्र २०८३/०८४ देखि विद्यालयमा विज्ञान संकाय समेत सञ्चालन गरिने तयारी गरिएको छ। उहाँले दक्षिण क्षेत्रका विद्यार्थीहरूले विज्ञान विषय अध्ययनका लागि टाढा-टाढासम्म जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित यसै शैक्षिक सत्रबाट विज्ञान शिक्षा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो।
“दक्षिण क्षेत्रमै गुणस्तरीय विज्ञान शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई आफ्नै क्षेत्रमा अवसर सिर्जना गर्नु हाम्रो प्राथमिकता हो,” संस्थापक भट्टराईको भनाइ उद्धृत गर्दै विद्यालय स्रोतले जनाएको छ।
पछिल्ला वर्षहरूमा स्वर्णिम शिक्षा सदन दक्षिण झापाका अभिभावकहरूको पहिलो रोजाइका रूपमा स्थापित हुँदै गएको देखिन्छ। विद्यालय प्रशासनले उत्कृष्ट नतिजा केवल अंकको सफलता मात्र नभई विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयबीचको साझा प्रतिबद्धताको प्रतिफल भएको जनाएको छ।
स्थानीय स्तरमै गुणस्तरीय तथा प्रतिस्पर्धी शिक्षा सम्भव छ भन्ने सन्देश प्रवाह गर्दै स्वर्णिम शिक्षा सदनले कचनकवल क्षेत्रको शैक्षिक गौरवलाई नयाँ उचाइमा पुर्याएको शिक्षा सरोकारवालाहरूको निष्कर्ष छ।




















