झापा - जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापार लुकीछिपी बसेका चोरी प्रकरणका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिन सफल भएको छ।

प्राप्त विवरणअनुसार, इलाका प्रहरी कार्यालय बिर्तामोडसँग सम्बन्धित घटनामा अनुसन्धान भइरहेका बेला केही पक्षबाट महिलामाथि शारीरिक तथा मानसिक दुर्व्यवहार भएको आरोपसमेत उठेको थियोे। यद्यपि, सो घटनामा संलग्न मुख्य प्रतिवादीहरू फरार रहेको अवस्थामा प्रहरीको निरन्तर खोजतलासपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

२०८२ सालको मंसिर २० गते राति करिब २१:४५ बजे मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल प्रवेश गरिरहेका दुई जनालाई शंकास्पद अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बिर्तामोड-४ निवासी ३२ वर्षीय आसिक आलम र भारत, बंगाल घर भएका अङसार आलम रहेका छन्।

उनीहरूविरुद्ध अर्जुनधारा-६ कप्तानबारीस्थित दुर्गा बहादुर पौडेल खत्रीको घरमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो। वारदातपछि भारततर्फ लुकीछिपी बसेका उनीहरू नेपाल प्रवेश गर्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले निगरानी बढाउँदै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

घटनाले सीमापार अपराध नियन्त्रणमा झापा प्रहरीको सतर्कता, समन्वय र अनुसन्धान क्षमतालाई थप सुदृढ बनाएको देखिन्छ। हाल पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।