बनियानी । मनसुनजन्य विपदका कारण हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्दै आएको वर्तमान अवस्थामा विद्यालय तहबाटै विपद् पूर्वतयारी र उद्धारसम्बन्धी व्यवहारिक शिक्षा प्रवाह गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म घेरावारीले सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ।

गुल्मपति डिएसपी लक्ष्मण बहादुर बस्नेत का अनुसार कचनकवल गाउँपालिका वडा नम्बर-२ स्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय तथा वडा नम्बर-३ स्थित पथरिया माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम अन्तर्गत बाढी, डुबान, कटान, चट्याङजस्ता प्राकृतिक विपद्का साथै आगलागी नियन्त्रण, प्राथमिक उपचार तथा उद्धारसम्बन्धी सैद्धान्तिक र व्यवहारिक कक्षाहरु निरन्तर सञ्चालन गरिने जनाइएको छ। विद्यालयस्तरमै विपद् प्रतिकार्यसम्बन्धी ज्ञान र सीप विकास गर्न सकिए भविष्यमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरी बलले समुदायमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना विस्तार गर्दै स्थानीय तह, विद्यालय तथा विभिन्न संघ-संस्थाको अनुरोधका आधारमा थप तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जनाएको छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण विपद्का घटनाहरु बढिरहेका बेला सुरक्षा निकायको यस्तो सक्रियता समुदायस्तरमा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।