झापा, बनियानी । कचनकवल गाउँपालिकाले विद्यालय सञ्चालन सम्बन्धमा देखिएको असमानता र निर्देशिका उल्लंघनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, गृह मन्त्रालयबाट प्रकाशित राजपत्रअनुसार शनिबार र आइतबार सार्वजनिक विदा दिने स्पष्ट निर्णय भइसकेको अवस्थामा समेत गाउँपालिकाभित्रका केही विद्यालयहरूले उक्त व्यवस्था अवज्ञा गर्दै आइतबार समेत कक्षा सञ्चालन गरेको पाइएको छ।
गाउँपालिकाका अनुसार यस्तो गतिविधिले शैक्षिक अनुशासन मात्र होइन, राज्यको नीतिगत निर्णयप्रति अविश्वास उत्पन्न गर्ने खतरा बढाउँछ। त्यसैले विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न शिक्षा समितिबाट निर्णय गरी राजपत्रमा उल्लेखित व्यवस्था अनुरूप नै विद्यालय सञ्चालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिइएको छ।
सूचनामा थप उल्लेख गरिएअनुसार, नेपाल सरकारले २०८२ साल चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन (शनिबार र आइतबार) विदा दिने निर्णय गरेको हो। साथै, कार्यालय समय बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म कायम गरिएको छ।
गाउँपालिकाले शैक्षिक संस्थाहरूलाई नीतिगत निर्णयको पूर्ण पालना गर्दै समन्वयात्मक ढंगले शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। यस कदमले शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र व्यवस्थापनको एकरूपता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।





















