झापाका विभिन्न पालिकामा श्रृंखलाबद्ध रूपमा भइरहेको सिटि सफारी चोरी घटनामा जिल्ला प्रहरी कार्यालय झापाले ठूलो सफलता हात पारेको छ । प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा गरिएको सूक्ष्म अनुसन्धानबाट सवारी चोरी गर्ने, ब्याट्री निकालेर कवाडीमा बिक्री गर्ने तथा संगठित रूपमा अपराध सञ्चालन गर्ने गिरोहको पर्दाफास भएको हो ।

मेचीनगर-६ सतिघट्टा रोड निवासी ४० वर्षीय मन्दिप श्रेष्ठको प्र.१-०१-००१ ह ५२६ नम्बरको सिटि सफारी घरअगाडि चार्जमा राखिएको अवस्थाबाट चोरी भएको थियो । उक्त सिटि मेचीनगर-८ पुन्या चोकमा फेला परेको थियो भने त्यसबाट ४ थान KING STAR ब्याट्री र कन्ट्रोलर निकालिएको अवस्थामा बरामद गरिएको थियो ।

मेचीनगर-६ अरनिकोपथ निवासी ४७ वर्षीय छविलाल तामाङको प्र.१-०१-००२ ह १६३० नम्बरको सिटि सफारी चोरीपछि बिर्तामोड-६ प्रगतीटोलमा बेवारिसे अवस्थामा फेला परेको थियो । प्रहरीले चोरी गरिएका ४ थान ब्याट्री समेत बरामद गरेको छ ।

मेचीनगर-१४ निवासी ५६ वर्षीय हरी मकल राजवंशीको प्रदेश १-०१-००२ ह २१७ नम्बरको सिटि सफारी कन्काई-८ लक्ष्मीपुरबाट चोरी भएको थियो । स्थानीयको सतर्कतापछि मेचीनगर-१३ तेलिबारी क्षेत्रमा सिटि फेला परेको थियो ।

कचनकवल-१ घर भई बिर्तामोड-४ बस्ने २६ वर्षीय मुसलिम आलमको प्रदेश १-०१-००२ ह ४९२० नम्बरको सिटि सफारी जिल्ला अदालत झापाअगाडिबाट चोरी भएको थियो । उक्त सिटिबाट निकालिएका ४ थान ब्याट्री शनिश्चरेस्थित कवाडी पसलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिर्तामोड-७ मियाबाडी निवासी ४७ वर्षीय कुबिर बहादुर दर्जीको प्रदेश १-०१-००२ ह ३७८४ नम्बरको सिटि सफारी जिल्ला प्रशासन कार्यालय झापाको पार्किङबाट चोरी भएको थियो । प्रहरीले सो सिटि बिर्तामोड-५ सिटिसेन्टर नजिकै बेवारिसे अवस्थामा फेला पारेको थियो ।

मेचीनगर-१३ चारआली निवासी ५३ वर्षीय भरत कुमार पुरीको प्रदेश १-०१-०२ ह ८७१८ नम्बरको सिटि सफारी जिल्ला अदालत अगाडिबाट चोरी भएको थियो । अनुसन्धानका क्रममा ८ थान चोरीका ब्याट्रीहरू समेत बरामद गरिएको छ ।

मेचीनगर-७ गैरीगाउँ निवासी ३५ वर्षीय बिकी राजवंशीको मे १ ह १०५५ नम्बरको सिटि सफारी पुरानो मेची पुल क्षेत्रबाट चोरी भएको थियो । सो सिटि नकलबन्दा क्षेत्रमा ब्याट्री बिना फेला परेको थियो भने चोरी गरिएका ४ थान ब्याट्रीसहित एक जना कवाडी व्यवसायी पक्राउ परेका छन् ।

प्रहरीले मुख्य आरोपी अभिषेक चौधरी उर्फ रुपक कुमार सरदारसहित विभिन्न कवाडी व्यवसायी र सहयोगीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । केही फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा गरिएको CCTV विश्लेषण, प्राविधिक अनुसन्धान र निरन्तर फिल्ड अपरेशनकै कारण संगठित चोरी गिरोहको जालो च्यातिएको हो । झापामा बढ्दो सवारी चोरी नियन्त्रणतर्फ यो अपरेशनलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

“अपराधी जतिसुकै चलाख भए पनि प्रहरी अनुसन्धानबाट उम्किनु अब सपनामा मात्रै सम्भव छ” भन्ने सन्देश यो घटनाले दिएको छ ।