झापा जिल्लाको हल्दीबारी गाउँपालिका-५ धनुषपोखरी क्षेत्रमा गएराति घरेलु विवादले हिंसात्मक रूप लिँदा एक महिलाको ज्यान गएको छ।
प्रहरी र स्थानीय स्रोतका अनुसार गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीमाथि धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
स्थानीयवासीले दिएको जानकारीअनुसार भण्डारी दम्पतीबीच लामो समयदेखि पारिवारिक तनाव र विवाद हुँदै आएको थियो। शनिबार राति करिब ९ बजेतिर गणेश भण्डारी मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन सुरु भएको बताइएको छ। सामान्य विवादका रूपमा सुरु भएको झगडा केही समयमै उग्र बन्दै जाँदा आवेशमा आएका उनले श्रीमतीमाथि दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि गणेश भण्डारी स्वयं छिमेकीको घरमा पुगेका थिए। उनले आफूबाट श्रीमतीको हत्या भएको स्वीकार गरेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी टोली पुगेर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
उर्मिला भण्डारी गणेश भण्डारीकी कान्छी श्रीमती रहेको बताइएको छ। यसअघि पहिलो वैवाहिक सम्बन्ध विच्छेद भएपछि उनले उर्मिलासँग दोस्रो विवाह गरेका थिए। मृतक उर्मिलाका एक छोरा र एक छोरी रहेका छन्। आमाको हत्या र बुबा प्रहरी नियन्त्रणमा परेपछि दुवै बालबालिकाको भविष्यप्रति स्थानीय समुदायले चिन्ता व्यक्त गरेका छन्।
घटनापछि पक्राउ परेका गणेश भण्डारीलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय झापा को नियन्त्रणमा राखिएको छ। मृतक उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।




















