झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ५ अन्तर्गत डागावारी-पाठामारी बजार जोड्ने सडक खण्ड अन्तर्गत पशुपति प्राविसम्मको कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ। ग्रामीण पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सम्पन्न गरिएको यस योजनाले स्थानीय नागरिकको दैनिक आवागमन, शैक्षिक पहुँच तथा बजार व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

विशेषगरी वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बन्दै आएको उक्त सडक अब व्यवस्थित कालोपत्रे भएपछि विद्यार्थी, कृषक, व्यवसायी तथा सर्वसाधारणलाई सहज आवतजावतको वातावरण बनेको स्थानीयवासीले बताएका छन्। सडक पूर्वाधारको सुधारसँगै स्थानीय आर्थिक गतिविधि र सेवा पहुँचसमेत थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

उक्त योजना सम्पन्न गराउन कोशी प्रदेश सरकारको सहयोग तथा प्रदेशसभा सदस्य भूमि प्रसाद राजवंशीको समन्वयकारी भूमिका उल्लेखनीय रहेको स्थानीय तह उपाध्यक्ष नवराज भट्टराईले जनाउनु भएको छ। विकास निर्माणका कार्यमा प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले ग्रामीण क्षेत्रमा दीर्घकालीन पूर्वाधार विकासको आधार बलियो बन्दै गएको विश्लेषण गरिएको छ।

स्थानीय नागरिकहरूले सडक स्तरोन्नतिलाई “विकासको व्यवहारिक अनुभूति” का रूपमा लिँदै आगामी दिनमा बाँकी सडक खण्डहरूको समेत स्तरोन्नति र विस्तार हुने अपेक्षा व्यक्त गरेकाछन्।