घेरावारी, झापा। कचनकवल गाउँपालिका-१, घेराबारीस्थित पथरिया बजारमा रहेको श्री बुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापनसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म घेराबारीको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा आगलागी नियन्त्रणसम्बन्धी व्यावहारिक अभ्यास प्रदर्शन गरिएको थियो।
कचनकवल गाउँपालिकाका अध्यक्ष श्री कालेन्द्र प्रसाद सिँह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सहायक गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्ट, सीमा सुरक्षा गुल्म घेराबारीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दिलबहादुर रायमाझी, प्रहरी चौकी कुट्टीका प्रहरी नायब निरीक्षक दीपक धिमाल, कचनकवल गाउँपालिका-१ का वडा सदस्य अनिता राजवंशी तथा विद्यालयका प्रधानाध्यापक नरेन्द्र सिंह राजवंशीको उपस्थिति रहेको थियो।
त्यसैगरी सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि, विद्यालयका विद्यार्थीहरु स्थानीय बासिन्दासहितको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रममार्फत आगलागीजन्य विपद्को समयमा अपनाउनुपर्ने सावधानी, तत्काल प्रतिकार्य, आगो नियन्त्रणका उपाय तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीबारे व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
यस्ता कृत्रिम घटना अभ्यासले समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















