झापा - कचनकवल गाउँपालिका-६, बनियानीस्थित एक्सेल डेभलपमेन्ट बैंक शाखाले “ग्लोबल मनी विक” कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले एक प्रभावकारी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। श्री लक्ष्मी माध्यमिक विद्यालय बनियानीमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले युवापुस्तामा वित्तीय अनुशासन र जागरूकता विकासतर्फ सकारात्मक सन्देश प्रवाह गरेको छ।

यसैगरी, बैंकको केन्द्रीय कार्यालय विर्तामोडका बजार व्यवस्थापन तथा डिजिटल बैंकिङ इन्चार्ज गजेन्द्र ढकालले डिजिटल बैंकिङका आधुनिक अभ्यास, यसको सुरक्षित प्रयोग तथा प्रविधिमैत्री वित्तीय सेवाको महत्वबारे सहजीकरण गर्नुभयो। उहाँले डिजिटल माध्यममार्फत वित्तीय पहुँच विस्तार हुँदै गएको सन्दर्भमा सचेत प्रयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक समीर पोख्रेलको रहेको थियोे । उक्त कार्यक्रममा बनियानी शाखाका संस्थापक प्रबन्धक तथा भद्रपुर शाखा प्रबन्धक राजन ढकालले ऋण प्रक्रिया, बैंकिङ सेवाका विविध आयाम तथा ग्राहक मैत्री सुविधाबारे स्पष्ट पार्दै वित्तीय संस्थाप्रतिको विश्वास र जिम्मेवार उपयोगबारे विद्यार्थीलाई अभिमुखीकरण गर्नुभयो।

सो अवसरमा सोमबारे शाखा प्रबन्धक मख्खन राजवंशीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यार्थीमा वित्तीय निर्णय क्षमताको विकास गर्दै भविष्यका जिम्मेवार आर्थिक नागरिक तयार पार्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।