सुकुनाडिगी । कचनकवल गाउँपालिका-२ स्थित सुकुनाडिगी चौक पुरानो बस्ती र मिश्रित समुदायको बाक्लो बसोबास रहेको क्षेत्रका रूपमा परिचित छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र कृषक तथा साना व्यापारीलाई सहज व्यापारिक वातावरण उपलब्ध गराउने उद्देश्यले यहाँ प्रत्येक मङ्गलबार साप्ताहिक कृषि बजार सञ्चालन गर्ने पहल गरिएको थियो। सोही उद्देश्यलाई संस्थागत रूप दिन बजार व्यवस्थापन समिति गठन गरिनुका साथै आवश्यक घर तथा टहरासमेत निर्माण गरिएको थियो।
स्थानीयको सक्रियता र सरोकारवालाको सहकार्यबाट एक समय सुकुनाडिगी बजारले ग्रामीण अर्थतन्त्र चलायमान बनाउने आशा जगाएको थियो। कृषकले आफ्नै उत्पादन बिक्री गर्ने अवसर पाएका थिए भने उपभोक्ताले स्थानीय उत्पादन सहज रूपमा प्राप्त गर्ने वातावरण बनेको थियो। बजारको भौतिक संरचना विस्तारसँगै यसको स्वरूप पनि परिवर्तन हुँदै गएको थियो।
तर, विश्वव्यापी कोरोना महामारीले सबै क्षेत्र प्रभावित बनेझैँ सुकुनाडिगी बजार पनि प्रभावित बन्यो। नेपाल सरकारले कोरोना नियन्त्रणका लागि २०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि बजार सञ्चालन पूर्ण रूपमा ठप्प बन्यो। विभिन्न चरणमा थपिएको लकडाउन २०७७ असार १ गतेसम्म कायम रह्यो र त्यस अवधिमा देशभरका आर्थिक तथा सामाजिक गतिविधिहरू रोकिए।
तर प्रश्न यहाँबाट सुरु हुन्छ-लकडाउन समाप्त भयो, जनजीवन सामान्य अवस्थामा फर्कियो, विद्यालय खुले, उद्योग-व्यवसाय सञ्चालनमा आए, सार्वजनिक यातायात नियमित भयो, तर सुकुनाडिगी बजार किन पुनः सञ्चालनमा आउन सकेन ?
बजार बन्द हुनु महामारीको प्रभाव हुन सक्थ्यो, तर महामारी समाप्त भइसकेपछि पनि बजार मृतप्रायः अवस्थामा रहनु भने केवल स्वास्थ्य संकटको परिणाम मात्र होइन। यसले व्यवस्थापन, नेतृत्व, नीतिगत उदासीनता वा सरोकारवालाबीचको समन्वय अभावजस्ता गम्भीर प्रश्नहरू उठाएको छ।
स्थानीय कृषक, उपभोक्ता र व्यापारीले प्रत्यक्ष लाभ लिने उद्देश्यले स्थापना गरिएको बजार आज सुनसान बनेको छ। निर्माण गरिएका संरचनाहरू प्रयोगविहीन छन् भने स्थानीयको अपेक्षा निराशामा परिणत हुँदै गएको देखिन्छ। बजार सञ्चालनका लागि गठन गरिएको समिति, स्थानीय सरकार तथा सम्बन्धित निकायहरूले यसको वर्तमान अवस्थाबारे स्पष्ट धारणा सार्वजनिक गर्नु आवश्यक देखिएको छ।
कुन कारणले बजार पुनः सञ्चालन हुन सकेन ? व्यवस्थापन पक्षको कमजोरी हो कि स्थानीय सहभागिताको अभाव ? अथवा अन्य कुनै बाध्यता र विवशता छन् ? यी प्रश्नहरूको उत्तर खोज्नु अहिलेको आवश्यकता बनेको छ।
स्थानीय विकास, कृषि प्रवर्द्धन र ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यले स्थापना गरिएको सुकुनाडिगी बजार आज किन अस्तित्वको सङ्कटमा पुगेको छ भन्ने विषयमा सम्बन्धित सरोकारवालाले तथ्यसहित आफ्नो धारणा सार्वजनिक गर्नेछन् भन्ने अपेक्षा गरिएको छ।
काजी खबर सुकुनाडिगी बजारको वर्तमान अवस्था र यसको पुनः सञ्चालनको सम्भावनाबारे सरोकारवालाबाट स्पष्ट जवाफ आउने विश्वास व्यक्त गर्दछ।




















