नरेश सञ्जेल । मतदाता अब भीड होइन, विवेक हो। त्यसैले मत माग्नुअघि उम्मेदवारले प्रश्न सुन्ने साहस गर्नुपर्छ। मताधिकार प्रयोग गर्नु अघि मतदाताले राख्ने यी प्रश्नहरू व्यक्तिगत आक्षेप होइनन्, लोकतान्त्रिक उत्तरदायित्वका आधारभूत कसौटी हुन्।
पहिलो, सिंहदरबार जलाउने जस्तो अभिव्यक्ति कुनै आवेग मात्र थियो कि तपाईंको नेतृत्व शैलीकै संकेत ? राज्य संरचनामाथि आगो बाल्ने भाषा बोल्ने व्यक्ति भोलि राज्य सञ्चालनमा कत्तिको संयमी रहन सक्छ-यो गम्भीर प्रश्न हो।
दोस्रो, राष्ट्रिय झण्डा ओढेर संविधान र कानुन विपरीत गतिविधि हुँदा पनि पार्टीको झण्डा नओढिनु कायरता हो कि दोहोरो मापदण्ड ? राष्ट्रको प्रतीकलाई आवरण बनाएर गैरकानुनी कर्म गर्ने प्रवृत्तिप्रति मौन बस्नु देशभक्तिको उपहास होइन र ?
तेस्रो, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्किने गरी सार्वजनिक अभिव्यक्ति दिनु विचारको स्वतन्त्रता हो कि गैरजिम्मेवार राजनीति ? समाज विभाजन गर्ने भाषाले भोलि कस्तो नेपाल बनाउँछ-यसको जवाफ चाहिन्छ।
चौथो, आफ्नो कार्यकालमा क्षेत्रमा के भयो र के हुन सकेन-यसको ठोस विवरण कहाँ छ ? योजनाको नाम होइन, परिणाम चाहिन्छ; नाराको सूची होइन, कार्यको लेखाजोखा चाहिन्छ।
पाँचौँ, देशलाई आवश्यकता नपरेका व्यक्तित्वलाई मिडियाको चमकमा राख्नु नैतिक हो कि स्वार्थकेन्द्रित राजनीति ? लोकतन्त्र व्यक्तिपूजाबाट होइन, मूल्य र उत्तरदायित्वबाट चल्छ।
मत माग्नु अधिकार हो, तर प्रश्नबाट भाग्नु धोका हो।
मतदाता अब मौन रहँदैन-उत्तर खोज्छ, प्रमाण माग्छ, र विवेकले मत दिन्छ।




















