झापा, कचनकवल - खुला सीमाको कमजोर अवस्थालाई उपयोग गर्दै भन्सार छलीमार्फत नेपाल भित्र्याइँदै आएका अवैध वस्तु नियन्त्रणमा सशस्त्र प्रहरी बलले पछिल्लो समय उल्लेखनीय सक्रियता देखाउन थालेको छ। विशेषगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेरावारीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर बस्नेतले कमाण्ड सम्हालेपछि सीमा क्षेत्रमा नियमित गस्ती, आकस्मिक चेकजाँच तथा पेट्रोलिङ तीव्र बनाइएको छ।
यही सक्रियताको परिणामस्वरूप कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित दल्लेगाउँ क्षेत्रबाट भन्सार छली गरेर नेपाल भित्र्याइँदै गरिएको ठूलो परिमाणको हरियो तरकारी बरामद गरिएको छ। भारतबाट ५ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमार्फत ल्याइँदै गरेको १५ बोरा हरियो तरकारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद तरकारीमा काउली, भण्टा, पर्वल, करेला, बोडी, भिण्डी, चटेला, घिरौला, चिचिण्डा, टमाटरलगायतका विभिन्न हरियो सागसब्जी रहेका छन्।
प्रारम्भिक मूल्याङ्कनअनुसार उक्त तरकारी तथा मोटरसाइकलसहित करिब ६ लाख ८२ हजार ८० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइ भन्सार कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार भारतबाट लुकिछिपी भित्र्याइने यस्ता क्वारेन्टाइन परीक्षणविनाका तरकारीले नेपाली बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै स्थानीय किसानलाई प्रत्यक्ष मर्कामा पारिरहेको छ। विषादी परीक्षणबिनै बिक्री वितरण हुने तरकारीले उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर जोखिम बढाएको भन्दै स्थानीय तहमा लामो समयदेखि गुनासो बढ्दै आएको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आकस्मिक निगरानी बढाएको हो। बस्नेतको नेतृत्वमा सीमावर्ती क्षेत्रमा “रुटिन गस्ती” भन्दा परिणाममुखी “इन्टेलिजेन्स-आधारित निगरानी” प्रभावकारी बन्दै गएको सुरक्षा स्रोतको दाबी छ।
विशेष चासोको विषय के छ भने, बस्नेतले गुल्मको कार्यभार सम्हालेको करिब महिनादिनभित्रै ५० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध भन्सार छलीका सामान बरामद गरि सम्बन्धित निकायलाई बुझाइसकेको तथ्यांक सार्वजनिक भएको छ। यसले सीमा सुरक्षामा केवल उपस्थितिमात्र होइन, परिणाम दिने कार्यशैली स्थापित भइरहेको संकेत गरेको स्थानीयहरू बताउँछन्।
खुला सीमाको चुनौतीबीच अवैध कारोबार नियन्त्रण सहज विषय होइन। तर पछिल्ला गतिविधिले सशस्त्र प्रहरी बलले “जुनसुकै खुला नाका वा गोरेटो प्रयोग गरेर हुने भन्सार छलीलाई असफल बनाउने” रणनीतिलाई व्यवहारमै उतारिरहेको देखिएको छ। सीमामा बढेको निगरानीले तस्करी सञ्जालमाथि दबाब सिर्जना गर्नुका साथै वैधानिक व्यापार प्रणालीप्रति विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ।




















