झापा - जिल्ला अदालत झापाका न्यायधीश अम्बिका प्रसाद दाहाल सहितको न्यायिक टोलीलाई कचनकवल गाउँपालिकामा स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक नवराज भट्टराईले स्थानीय तहमा न्यायिक समितिमार्फत हुँदै आएका न्यायिक निरूपणका कार्यप्रति अदालत पक्षबाट व्यक्त प्रशंसा र सुझावहरूले थप ऊर्जा तथा जिम्मेवारीबोध दिलाएको बताउनुभएको छ।

न्यायिक समिति र अदालतबीचको समन्वयात्मक सम्बन्धलाई स्थानीय न्याय प्रणाली सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै उपाध्यक्ष भट्टराईले समुदायस्तरमै सहज, छिटो र विश्वासिलो न्याय उपलब्ध गराउने उद्देश्यका साथ समिति निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो। उहाँले अदालतबाट प्राप्त अनुभव, सुझाव र मार्गदर्शनले आगामी दिनमा न्याय सम्पादन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले संविधानले स्थानीय तहलाई प्रदान गरेको न्यायिक अधिकारको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको धारणा राख्नुभयो। उहाँले न्यायिक समितिले मेलमिलाप, विवाद समाधान र सामाजिक सद्भाव कायम गर्ने क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै स्थानीय सरकारको प्रशासनिक संयन्त्र न्यायिक प्रक्रियालाई थप व्यवस्थित, अभिलेखीकरणमैत्री र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले न्याय सम्पादन केवल कानुनी प्रक्रिया मात्र नभई नागरिकको राज्यप्रतिको भरोसा मजबुत बनाउने माध्यम पनि भएको बताउँदै स्थानीय तह, न्यायिक समिति र अदालतबीचको सहकार्यले सुशासन प्रवर्द्धनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी न्यायिक टोलीले कचनकवल गाउँपालिकाले समुदायस्तरमा मेलमिलाप र विवाद समाधानका क्षेत्रमा गरेका अभ्यासहरूको प्रशंसा गर्दै न्यायिक प्रक्रियामा अभिलेख व्यवस्थापन, कानुनी परामर्श र प्रक्रियागत एकरूपतामा थप ध्यान दिन सुझाव दिएको जनाइएको छ।