झापा - कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा “विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रम” कचनकवल-३ डाँगीबारीस्थित मोती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा कानुनी ज्ञान, सामाजिक जिम्मेवारी तथा अनुशासित नागरिक चेतना विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न विषयमा कानुनी सचेतना, बालअधिकार, साइबर अपराध, सामाजिक विकृति, लागू पदार्थ दुर्ब्यसन, विद्यालयीय अनुशासन तथा नागरिक कर्तव्यका विषयमा जानकारी गराइएको थियो। सहभागी विद्यार्थीहरूले चासोपूर्वक कार्यक्रम सुन्दै जिज्ञासा समेत राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कचनकवल गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नवराज भट्टराईले कानुनी चेतना विद्यालय तहदेखि नै विकास हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो,

“कानून केवल अदालत वा प्रशासनको विषय होइन, सभ्य समाज निर्माणको आधार हो। विद्यार्थीहरूले अधिकारसँगै आफ्नो कर्तव्य पनि बुझ्न सक्नुपर्छ। सचेत युवा पुस्ताले मात्रै अनुशासित, सुरक्षित र समुन्नत समाज निर्माण गर्न सक्छ।”

उहाँले विद्यालय तहमा यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नैतिकता र जिम्मेवारीबोध विकास हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवारप्रति आभार प्रकट गर्नुभयो।

“सहयोग र समन्वयका लागि विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको छ,” भट्टराईले भन्नुभयो।

उमेश मिश्रले सञ्चालन गरेको खुला कार्यक्रम पश्चात सुरक्षा निकायका प्रतिनिधिले विद्यार्थीहरूलाई सामाजिक अपराध, साइबर दुरुपयोग तथा कानुनी सजगताका विषयमा प्रशिक्षणात्मक जानकारी दिएका थिए। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।