इलाम । माईजोगमाई गाउँपालिकामा करिब ३३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएका कुमार बस्नेत सूचना तथा प्रविधि मन्त्रालय, काठमाडौंमा सरुवा हुनुभएका छन् । गाउँपालिकाले एक औपचारिक कार्यक्रममार्फत बस्नेतलाई सम्मानपूर्वक बिदाइ गर्दै मालपोत कार्यालय उदयपुरबाट सरुवा भई आउनु भएका केशब प्रसाद आचार्यलाई स्वागत गरेको हो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रविना राई, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिदाइ मन्तव्यका क्रममा कुमार बस्नेतले आफ्नो कार्यकाललाई केवल प्रशासनिक जिम्मेवारीमा सीमित नराखी संस्थागत सुधार, आर्थिक अनुशासन र समन्वयात्मक नेतृत्वको अभ्यासका रूपमा अघि बढाएको उल्लेख गर्नुभयो। उनले साविक गाविस संरचनादेखि स्थानीय तहमा रूपान्तरण हुँदै आएको २९ करोड रुपैयाँ बेरुजु घटाएर १४ करोडमा झार्न सफल भएको तथ्य प्रस्तुत गर्दै वित्तीय सुशासनतर्फ गाउँपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो ।

उनको कार्यकालमा विभिन्न विपद्का चुनौतीपूर्ण अवस्थालाई संयमित ढंगले व्यवस्थापन गरिएको, प्रशासनिक जटिलता र समय-समयमा उत्पन्न विवादलाई संवाद, सहजीकरण र समन्वयमार्फत समाधान गरिएको सहभागीहरूले स्मरण गरेका थिए । स्थानीय तहको प्रशासनिक संरचनालाई स्थायित्व, अनुशासन र कार्यसम्पादनमुखी संस्कृतितर्फ उन्मुख गराउन बस्नेतले खेलेको भूमिका प्रशंसनीय रहेको वक्ताहरूको भनाइ थियो ।

कर्मचारीका तर्फबाट मन्तव्य राख्दै मान बहादुर पौडेलले बस्नेतले कर्मचारीबीच सहकार्य, विश्वास र जिम्मेवारीबोधको वातावरण निर्माण गरेको उल्लेख गर्दै उनको कार्यशैलीबाट प्रशासनिक संयमता र नेतृत्वकला सिक्न पाएको बताए ।

त्यस्तै जनप्रतिनिधिका तर्फबाट याम कुमार कार्कीले बस्नेतको कार्यशैलीलाई “संयमित, परिणाममुखी र संस्थाप्रति उत्तरदायी” भन्दै प्रशंसा गरेका थिए । उनले बस्नेतको आगामी कार्ययात्रा अझ सफल र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशब प्रसाद आचार्यले स्थानीय तह आफ्नो लागि नयाँ अनुभव भए पनि विधि, प्रक्रिया र सुशासनलाई केन्द्रमा राखेर पारदर्शी तथा प्रभावकारी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीच सहकार्यलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप चुस्त बनाइने बताए ।

कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख गोकुल संजेलले गरेका थिए ।

माईजोगमाई गाउँपालिकामा कुमार बस्नेतको कार्यकाललाई धेरैले प्रशासनिक स्थिरता, वित्तीय अनुशासन र संस्थागत सुधारको चरणका रूपमा स्मरण गरेका छन् । स्थानीय तहको प्रशासन केवल कागजी प्रक्रियामा सीमित नभई जनविश्वास र उत्तरदायित्वसँग जोडिएको हुन्छ भन्ने उदाहरण बस्नेतको कार्यशैलीले प्रस्तुत गरेको सहभागीहरूको निष्कर्ष थियो ।