सुकुनाडिगी । झापाको कचनकवल गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय लामो समयदेखि नमुना विद्यालयका रूपमा परिचित शैक्षिक संस्था हो। समुदायको अपार माया, सहयोग र भरोसाका कारण विद्यालयले विगतमा उल्लेखनीय शैक्षिक पहिचान निर्माण गरेको थियो।
तर केही वर्षयता विद्यालय प्रशासनको अपारदर्शी आर्थिक गतिविधि भन्दै विद्यालय व्यवस्थापन समितिबीच बढेको दूरीले विद्यालयभित्र असहज अवस्था सिर्जना गरेको थियो। तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिबीच समन्वय कमजोर बन्दै जाँदा प्रशासनिक खटपट सार्वजनिक रूपमा देखिन थालेको थियो। त्यसको प्रत्यक्ष असर विद्यालयको शैक्षिक वातावरण, विद्यार्थी संख्या तथा गुणस्तरमा समेत परेको स्थानीय अभिभावकहरूको बुझाइ रहेको छ।
विद्यालयभित्र उत्पन्न विवाद समाधानका लागि कचनकवल गाउँपालिका र शिक्षा शाखाले पटक-पटक सहजीकरण र समन्वयको प्रयास गरे पनि अपेक्षित सुधार हुन सकेको थिएन। अन्ततः गाउँपालिका शिक्षा शाखाले पथरिया माध्यमिक विद्यालय मा कार्यरत माध्यमिक तह तृतीय श्रेणी नेपाली विषयका शिक्षक पेशल भट्टराई लाई सरुवा गरी लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा जिम्मेवारी प्रदान गरेको थियो।
खेम भट्टराईको नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिले भट्टराईलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएपछि विद्यालयमा सकारात्मक वातावरण निर्माण हुन थालेको स्थानीयवासी बताउँछन्। नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै विद्यालयप्रति अभिभावकहरूको विश्वास र भरोसा उल्लेखनीय रूपमा बढेको देखिएको छ।
यसै क्रममा विद्यालयमा नयाँ भर्ना भएका ११५ जना विद्यार्थीलाई एक औपचारिक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रममा विद्यालय प्रशासनले अभिभावक र समुदायले विद्यालयप्रति देखाएको विश्वास, माया र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सहकार्य सुदृढ बन्दै गएकाले लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयले पुनः आफ्नो पुरानो शैक्षिक गौरव हासिल गर्ने अपेक्षा गरिएको छ।




















