झापामा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। मिति २०८३।०२।०८ गते बिहान करिब १०:३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान को कमाण्डमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ८ स्थित एस.पि. मोडबाट फरार प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको हो।
सम्मानित जिल्ला अदालत झापाको लगत नं. १२/३९६२ तथा मिति २०८१।०६।११ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १० वर्ष कैद र रु ७५ हजार जरिवाना सजाय तोकिएका भद्रपुर निवासी ४१ वर्षीय ‘गुल्लु’ भनिने मोहमद असर्फ शेख लामो समयदेखि फरार रहेका थिए। प्रहरी टोलीले सूचनाको सूक्ष्म विश्लेषण, निगरानी तथा रणनीतिक परिचालनमार्फत उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउपछि प्रतिवादीलाई जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई जिल्ला कारागार झापा पठाइएको प्रहरीले जनाएको छ।
झापामा पछिल्लो समय फरार अपराधी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएका प्रहरी निरीक्षक विजय चौहानको नेतृत्व पुनः प्रभावकारी सावित भएको छ। प्रहरी वृत्तभित्र समेत “चौहानको निसाना विफल भएको इतिहास छैन” भन्ने चर्चा यस घटनापछि अझ बलियो बनेको छ। सूचना परिचालन, अपरेसनल गोपनीयता र निर्णायक कार्यशैलीका कारण चौहान नेतृत्वको टोलीले फरार अभियुक्त पक्राउ अभियानमा लगातार सफलता हासिल गर्दै आएको प्रहरी स्रोत बताउँछ।




















