बनियानी (झापा) - नौलो भविष्य साना किसान कृषि सहकारी संस्था बनियानीले किसानलाई बिक्री वितरण गरेको धानको बीउमा अन्य जातको बीउ मिसिएको आरोप लागेपछि किसानहरू आक्रोशित बनेका छन्। मिसिएको बीउका कारण उत्पादनमा ह्रास आएपछि किसानले सहकारीविरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
स्थानीय किसानहरूले कृषि सहकारीमार्फत खरिद गरिएको “उत्तम उत्पादन दिने प्रमाणित धान बीउ” रोपेका थिए। तर बाली उम्रँदै जाँदा खेतभरि फरक-फरक जातका धानका बोट उम्रिएपछि किसानले मिसावटको आशंका गरेका हुन्।
“हामीले सहकारीमा भरोसा गरेर बीउ किन्यौं, तर खेतभरि धानको रूपरंग र फलफूल नै फरक देखियो। अहिले उत्पादन घटेको छ, हाम्रो मिहिनेत र लगानी दुवै खेर गयो।”
किसानहरूले हाल बीउको गुणस्तर परीक्षण र क्षतिपूर्ति भराईदिन कचनकवल गाउँपालिका बनियानी झापामा औपचारिक उजुरी दिने तयारी गरेका छन्।
“बीउ ऐन, २०४५” को धारा १२ अनुसार प्रमाणित नाममा भिन्न जातको बीउ बिक्री गर्नु ठगी र छलकपटपूर्ण कार्य मानिन्छ।
त्यसै ऐनको धारा १३ ले यस्तो कार्यमा संलग्न व्यक्तिलाई रु. १०,००० सम्म जरिवाना वा ६ महिनासम्म कैद, वा दुवै सजायको प्रावधान गरेको छ।
त्यस्तै “बीउ नियमावली, २०५४” को नियम २५ अनुसार दोषी प्रमाणित भएमा वितरण रोक्ने, बीउ फिर्ता गर्न लगाउने र किसानलाई क्षतिपूर्ति दिलाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ।
“उपभोक्ता संरक्षण ऐन, २०७५” को धारा २०, २२ र ५३ अनुसार भ्रामक सूचना, गलत विवरण वा मिसावट गरेर बिक्री गर्ने व्यक्तिलाई रु. ५० हजारदेखि रु. ३ लाखसम्म जरिवाना र प्रभावित उपभोक्तालाई पूर्ण क्षतिपूर्ति तिर्नुपर्ने कानुनी दायित्व छ। किसानले चाहेमा उपभोक्ता संरक्षण मञ्च वा सम्बन्धित अदालतमा मुद्दा दर्ता गर्न सक्छन्।
जिल्ला कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएको जनाएका छन्। “यदि परीक्षणमा बीउ मिसिएको प्रमाणित भयो भने सहकारीलाई बीउ ऐन र उपभोक्ता संरक्षण ऐन दुवै अन्तर्गत कारबाही हुनेछ,” एक प्राविधिकले बताए। “किसानले भोगेको क्षति बराबरको क्षतिपूर्ति दिलाउने हाम्रो दायित्व हुन्छ,” उनले थपे।
किसानको जीवन र आम्दानीसँग प्रत्यक्ष सम्बन्धित बीउ गुणस्तरमा लापरबाही गर्नु गम्भीर कानुनी अपराध हो। यदि नौलो भविष्य साना किसान कृषि सहकारीमाथि लागेको आरोप प्रमाणित भयो भने, यो केवल किसानको आर्थिक हानि मात्र नभई सहकारी प्रणालीप्रतिको जनविश्वासमा ठूलो चोट पुग्नेछ।




















