काठमाडौं। बोधनारायण श्रेष्ठले देशभर रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परेको बताउनुभएको छ। उहाँले विशेषगरी धादिङ जिल्लामा जिल्ला प्रशासनसहित सरोकारवाला निकायसँग भएको छलफलमा मल वितरण प्रभावकारी नभएको, वितरण प्रक्रियामा पक्षपात भएको तथा आफन्तलाई प्राथमिकता दिइएको भन्ने व्यापक गुनासो प्राप्त भएको जानकारी दिनुभयो।
सांसद श्रेष्ठका अनुसार धान खेतीका लागि जिल्लामा आवश्यक २ हजार ३ सय ५२ मेट्रिक टन रासायनिक मलमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र वितरण भएको छ। प्रदेश सरकारले निर्धारण गरेको सीमित कोटाअनुसार मात्रै मल उपलब्ध हुँदा किसानले आवश्यक समयमा मल नपाएर खेती प्रभावित भएको उहाँको भनाइ छ।
उहाँले रासायनिक मलको आपूर्ति, ढुवानी र वितरणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। देशभर समान र समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारले तत्काल पहल गर्नुपर्ने उहाँको आग्रह छ।
सांसद श्रेष्ठले मल व्यवस्थापन सुधारका लागि भएका प्रयास र प्रगतिको स्पष्ट जानकारीसमेत सरोकारवाला निकायसँग नरहेको गुनासो गर्नुभयो। किसानका समस्याबारे जिल्ला समन्वय समिति, कृषि विकाससम्बन्धी निकाय तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू समयमै जानकार भई समाधानमुखी भूमिका खेल्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।
उहाँले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन नसकिए कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।




















