बनियानी । कचनकवल गाउँपालिका-भित्र सञ्चालित एकमात्र कृषि प्राविधिक विद्यालय मोती माध्यमिक विद्यालयले सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी प्रमुख अतिथि, उपाध्यक्ष नवराज भट्टराई विशिष्ट अतिथि तथा विद्यालयका निवर्तमान प्रधानाध्यापक छबिलाल बस्नेत, समाजसेवी विष्णु घिमिरे, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोपेर कृषिप्रति सम्मान र श्रमको महत्वलाई व्यवहारमै उतारेका थिए।
नेपाल सरकारको निर्णयअनुसार वि.सं. २०६२ सालदेखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ। कृषि प्रधान देश नेपालमा धान मुख्य खाद्यान्न बाली भएकाले यस दिवसले किसानको श्रम, खाद्य सुरक्षा र कृषि उत्पादनको महत्वलाई राष्ट्रिय रूपमा उजागर गर्ने उद्देश्य बोकेको छ। असार १५ दही-चिउरा खाने, सामूहिक रोपाइँ गर्ने र कृषिप्रति सम्मान व्यक्त गर्ने सांस्कृतिक पर्वका रूपमा पनि परिचित छ।
यस वर्षको राष्ट्रिय धान दिवसको मूल नारा "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" रहेको छ। सोही नारालाई आत्मसात गर्दै विद्यालयले आधुनिक, वैज्ञानिक र जलवायु अनुकूल कृषिको आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक विमल कुमार राईले बताउनु भएको छ।
विद्यालयका अनुसार धान दिवस केवल औपचारिक उत्सव नभई किसानप्रति सम्मान, कृषि उत्पादन वृद्धि, खाद्य आत्मनिर्भरता, प्रकृतिसँग सहकार्य तथा श्रमको सम्मान गर्ने राष्ट्रिय अभियान हो। किसानको पसिनाले देशको भान्सा चल्ने भएकाले राष्ट्रको समृद्धिको आधार कृषि नै रहेको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।
कार्यक्रममा कृषि क्षेत्रप्रति राज्यको प्राथमिकतामाथि समेत गम्भीर प्रश्न उठाइएको छ। हरेक सरकारले कृषिलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याए पनि पर्याप्त बजेट, सिँचाइ, गुणस्तरीय बीउ, रासायनिक मल, कृषि अनुसन्धान, भण्डारण, बजार व्यवस्थापन तथा किसानलाई उचित मूल्य सुनिश्चित गर्ने संरचनात्मक सुधार अपेक्षित गतिमा अघि बढ्न नसकेको धारणा व्यक्त गरिएको थियो।
वक्ताहरूले कृषि क्षेत्रको दिगो विकासका लागि दीर्घकालीन कृषि नीति, पर्याप्त लगानी, अनुसन्धानमा जोड, किसानमैत्री कानुन, उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खलाको सुधार तथा राजनीतिक हस्तक्षेपभन्दा वैज्ञानिक र व्यावसायिक सोचको विकास अपरिहार्य रहेको बताए।
कार्यक्रमको अन्त्यमा किसानको श्रमलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा सम्मान गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, युवालाई आधुनिक तथा उद्यमशील कृषितर्फ आकर्षित गर्ने र कृषि आत्मनिर्भर नेपालको अभियानमा सबै क्षेत्रबाट साझा योगदान आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरिएको थियो।




















