झापा, बनियानी । कचनकवल गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तथा दक्षिणी क्षेत्रकै सबैभन्दा ठूलो कृषि उपज बजारका रूपमा परिचित बनियानी कृषि उपज बजार व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। नयाँ नेतृत्वसँगै बजारलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्ने अपेक्षा बढेको छ।
नवगठित समितिको अध्यक्षमा सोमनाथ चम्लागाई, सचिवमा सूरजकुमार शाहा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शिवेन राजवंशी, निर्मला राई, कमला राजवंशी, नारदप्रसाद अधिकारी, सम्झना सापकोटा र खड्ग राजवंशी रहेका छन्।
बजार व्यवस्थापनलाई नीतिगत तथा प्राविधिक सहयोग पुर्याउने उद्देश्यले गठन गरिएको सल्लाहकार समितिको संयोजकमा विष्णु घिमिरे रहेका छन् भने सदस्यहरूमा हरि बुढाथोकी र जयसिंह राजवंशी चयन भएका छन्।
बनियानी बजार कचनकवल गाउँपालिकाभित्रको मात्र नभई दक्षिणी सीमावर्ती क्षेत्रको सबैभन्दा ठूलो कृषि उपज तथा दैनिक उपभोग्य वस्तुको व्यापारिक केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। हजारौं किसान, व्यापारी र उपभोक्ताको प्रत्यक्ष सरोकार रहेको यस बजारको व्यवस्थापन भने विगतदेखि नै चुनौतीपूर्ण बन्दै आएको छ।
बजारको स्तरोन्नति र व्यवस्थापनका लागि विभिन्न समयमा करोडौँ रुपैयाँ बराबरका योजना र बजेट सुनिश्चित गरिए पनि कार्यान्वयनको चरणमा बजेट कटौती हुने प्रवृत्तिले अपेक्षित पूर्वाधार निर्माण हुन सकेको छैन। यही कारण बजार अझै अव्यवस्थित, साँघुरो र दीर्घकालीन योजनाविहीन अवस्थाबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन।
विशेषगरी चारआली-केचना सडक तथा बजारका भित्री सडकहरू अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचनाले सवारी व्यवस्थापन, पैदल यात्रु आवागमन, व्यापारिक गतिविधि र विपद् व्यवस्थापनसमेत प्रभावित बनाएको छ। त्यसैले बजारलाई आधुनिक र व्यवस्थित स्वरूप दिन कानुनी प्रक्रिया अपनाई सार्वजनिक सडक क्षेत्रको अतिक्रमण हटाउनु अपरिहार्य देखिन्छ।
स्थानीयवासीका अनुसार बजार व्यवस्थापन केवल समिति गठनमै सीमित हुनु पर्याप्त हुँदैन। स्पष्ट गुरुयोजना, पर्याप्त बजेट, राजनीतिक प्रतिबद्धता, सरकारको दृढ इच्छाशक्ति र व्यापारी-उपभोक्ताको समान सहभागितामार्फत मात्र बनियानी बजारलाई नमुना कृषि उपज बजारका रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ।
नयाँ नेतृत्वका लागि समिति गठन पहिलो चरण मात्र हो। अबको वास्तविक परीक्षा भनेको वर्षौंदेखि थाँती रहेका पूर्वाधार, सडक अतिक्रमण, सरसफाइ, पार्किङ व्यवस्थापन र दीर्घकालीन बजार विकासका योजनालाई व्यवहारमा उतार्नु हुनेछ। त्यसमा सफलता प्राप्त भए बनियानी बजार दक्षिणी झापाकै व्यवस्थित र प्रतिस्पर्धी व्यापारिक केन्द्रका रूपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।




















