नमस्कार,

हाल देशमा विकसित राजनीतिक घटनाक्रमका कारण ठूलो मानवीय क्षति हुनुका साथै देशका महत्त्वपूर्ण प्रशासनिक संरचना, व्यक्तिगत सम्पत्ति, कलकारखाना तथा व्यापारीक भवनमा अकल्पनीय क्षति भएको छ। सो घटनाबाट हाम्रो कचनकवल गाउँपालिकाको प्रशासनिक भवन तथा वडा कार्यालयहरू समेत पूर्ण रूपमा क्षतिग्रस्त भई खरानी बनेका छन्। क्षतिको एकिन विवरण अझै आइसकेको छैन।

यी सबै घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु। आन्दोलनमा सहिद हुनुभएका प्रिय Gen Z युवाहरू, सुरक्षाकर्मी तथा ज्यान गुमाउनुभएका सम्पूर्ण आत्माहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।

आन्दोलनले उठाएको राजनीतिक, सामाजिक परिवर्तन र विधिको शासनलाई संस्थागत गर्दै न्यायपूर्ण समाज स्थापना गर्ने कार्यमा म स्वयम् पनि हिजोका कामहरूको आत्मसमीक्षा गर्दै सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। गाउँपालिकामा तपाईंहरूको अमूल्य मतबाट निर्वाचित जनप्रतिनिधिको भूमिकामा रहँदै काम गर्ने क्रममा कतै कमजोरी भएको भए आत्मआलोचना गर्दै भविष्यमा कुनै पनि जनभावनाविपरीत कार्य नगर्ने दृढ संकल्प गर्दछु।

यो कष्टपूर्ण अवस्थाबाट पनि हामी सबै मिलेर हाम्रो समाज र देशलाई फेरि सुन्दर बनाउन सक्छौं। युवाको सपना साकार पार्न अब केवल कुण्ठा वा आवेगमा होइन, धैर्य, कर्तव्यबोध र एकताको भावनासहित सबै नेपाली एकजुट हुन आवश्यक छ।

म कचनकवलवासी सबैमा धैर्य राख्न, सामाजिक एकता र सद्भाव कायम गर्न हार्दिक अनुरोध गर्दछु। प्रशासनिक शून्यताको यस अवस्थाबाट पार पाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्दछु। सुरक्षा संयन्त्र कमजोर अवस्थामा रहेकाले समाज र समुदायको सुरक्षाको जिम्मेवारी तपाईं-हाम्रो काँधमा पनि छ भन्ने बोध गरौं।

हामी विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा अघि बढ्नुपर्छ। लोकतान्त्रिक प्रणालीमा निर्वाचन नै जनतासामु सबै राजनीतिक दलको परीक्षणको सर्वश्रेष्ठ माध्यम हो, र यही प्रणालीलाई हामीले अवलम्बन गरिरहेका छौं। दलगत आस्थाले समाज विभाजित हुनुहुँदैन। नयाँ विचारलाई समाज परिवर्तनको दिशामा लगाउँदै आम जनताको मन जित्ने कार्यमा सबै एकताबद्ध होऔं।

म सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता तथा स्वतन्त्र नागरिकलाई साझा हितमा एकताबद्ध भई अघि बढ्न अपिल गर्दछु।

यसैबीच, हाल मौसमी प्रतिकूलताका कारण अबिरल वर्षा भइरहेको छ। हाम्रो क्षेत्र होचो भूभाग भएकाले बिरिङ, मेची र भुतेनी नदीमा आउन सक्ने बाढीजन्य जोखिमबाट सतर्क रहनुहोस्। विपत्तिका बेला एकअर्कालाई सहयोग गर्दै सुरक्षित रहन सबै कचनकवलवासीलाई अनुरोध गर्दछु।

हामी चाँडै नै हाम्रो प्रशासनिक संयन्त्रलाई सञ्चालनमा ल्याउनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु।

धन्यवाद।

नवराज भट्टराई

उपाध्यक्ष

कचनकवल गाउँपालिका बनियानी,झापा

मिति: २०८२/०५/२९