सुकुनाडिगी - कचनकवल गाउँपालिका वडा नं. २ स्थित श्री सुकुनाडिगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अति विपन्न र एकल महिलाहरूको जीवनमा राहत पुर्याउने कदम चालेको छ।
        
                        
            
        
    
खानेपानी समितिले मनमाया तामाङ र अनिता बुढाथोकीलाई निःशुल्क पानीको मिटर जडान गरिदिएको हो, जसले दिगो पहुँचयुक्त खानेपानीको सेवा प्रदान गर्ने उद्देश्यमा सकारात्मक प्रभाव पारेको छ।
समितिको यस कार्यको वडाध्यक्ष लेखनाथ खत्रीले उच्च प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वप्रति समर्पित संस्थाको रूपमा सुकुनाडिगी खानेपानी उपभोक्ता समितिले देखाएको उदाहरणीय कार्यप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, “समाजका सबै वर्गलाई समान पहुँचको सुनिश्चितता गर्ने प्रयास सराहनीय छ। समितिको यो कदमले अन्य संस्थाहरूलाई पनि प्रेरणा मिल्नेछ।”
स्थानीय स्तरमै गरिब, एकल र विपन्न वर्गप्रति उत्तरदायी भएर गरिएको सहयोगले सुकुनडिगी खानेपानी उपभोक्ता समितिको सामाजिक छविलाई थप मजबुत बनाएको छ।
                    
        
        
        
                            
                                                            



















