कचनकवल । कृषकको पसिना र परिश्रमलाई सम्मान गर्दै, कचनकवल गाउँपालिका - २ धारापानी चौकमा आज एक विशेष समारोहबीच दुग्ध संकलन तथा चिस्यान केन्द्रको उद्घाटन गरियो। सहज परियोजना र ऋतिका डेरी उद्योगको सहकार्यमा स्थापना भएको यस केन्द्रले अब स्थानीय किसानले उत्पादन गरेको दूधलाई उचित मूल्यमा बेच्न सक्ने आशा जगाएको छ।

उद्घाटन कार्यक्रम प्रमुख अतिथि तथा वडाध्यक्ष लेखनाथ खत्रीले दियो बालेर रिबन काटी गर्नुभयो। उहाँले किसानकै घर-आँगनमा स्थापना गरिएको यस्तो सुविधा कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब कृषकले फ्याटको आधारमा दूधको मूल्य पाउने भएकाले बिचौलियाको दुःखबाट छुटकारा मिल्नेछ।”

केशर बहादुर कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) गाउँ कमिटी सचिव दुर्गा थापा, हरित कृषक समूहका अध्यक्ष तथा कृषि अभियन्ता कन्हैयालाल गणेश, नेपाल विद्युत प्राधिकरणका इञ्चार्ज तोयानाथ दाहाल , समाजसेवी पबित्रा पोख्रेल लगायत अतिथिको उपस्थिति थियो।

शुभकामना मन्तब्यका क्रममा नेपाल विद्युत प्राधिकरणका तोयानाथ दाहालले भन्नुभयो , “कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागि गरिएका यस्ता प्रयासहरू प्रेरणादायी छन्।”

कार्यक्रममा नेकपा (एमाले) गाउँ कमिटी सचिव तथा राजनीतिकर्मी दुर्गा थापाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाईभैसी खरिदका लागि आवश्यक पर्ने ऋण व्यवस्थापनमा आफू व्यक्तिगत रूपमा सहजीकरण गर्न तत्पर रहेको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीयस्तरमै डेरी जस्ता उत्पादनमूलक कार्यमा कृषकले अग्रसरता देखाइरहेका बेला म उनीहरूलाई गाईभैसी किन्न ऋण उपलब्ध गराउन सहयोग पुर्‍याउन सधैं तयार छु।” उहाँको भनाइले कार्यक्रममा उपस्थित कृषकहरूमा थप उत्साह थपेको देखिन्थ्यो।

कृषि अभियन्ता तथा हरित कृषक समुहका अध्यक्ष कन्हैयालाल गणेशले दुग्ध सँकलन तथा चिस्यान सुविधा स्थानीयस्तरमै उपलब्ध हुनुले मूल्य पारदर्शिता र कृषकको उत्साहमा वृद्धि हुने बताउनुभयो।

कार्यक्रमको सञ्चालन गर्दै समाजसेवी तथा कृषक अभियन्ता भागिरथा प्याकुरेलले कृषकको पीडालाई नजिकबाट बुझेर यो पहल अघि सारिएको बताउनु भयो। डेरी सञ्चालक रोहित बजगाईले डेरी सञ्चालन गर्ने उत्साह थपिनुमा, “म मेरो सेनाको अनुशासन र सामाजिक सेवाको भावना लिएर यो काममा होमिएको हुँ। समाजसेवी प्याकुरेलको निःस्वार्थ समर्पण र सहज परियोजना तथा ऋतिका डेरीको सहकार्यबिना यो सम्भव हुने थिएन।” वहाँले बताउनुभयो ।

धारापानी डेरी केन्द्रले किसानको जीवनशैलीमा मात्र होइन, सोचमा पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ। कृषकलाई आत्मनिर्भर बनाउने र उनीहरूको श्रमको सम्मान गर्ने यस्ता पहलहरू अब गाउँको नयाँ प्रेरणा बन्नुका साथै स्थानीय कृषकहरूको अनुहारमा आशा र आत्मनिर्भरताको चमक थपिने निश्चित भएकाले अब कृषकले उत्पादन गरेको दूधको बजार खोज्दै भारतीय बजार कादोगाउँ धाउनु पर्ने छैन, न त मूल्य कटौतीको पीडा भोग्नुपर्ने छ।