झापा, असार २० – प्रदेश सभा सदस्य भुमि प्रसाद राजवँशीको सक्रिय पहल र समन्वयमा झापाको कचनकवल र भद्रपुरका कृषकहरूको सिँचाइ समस्या समाधानतर्फ ठूला कदम चालिएको छ। खानेपानी, सिचाइ तथा उर्जा मन्त्रालयअन्तर्गत भूमिगत जलस्रोत तथा सिचाइ विकास डिभिजन, कोशी प्रदेशले ५५ वटा कृषक उपभोक्ता समितिलाई स्यालो ट्युबवेल जडानका लागि कुल रु. ४२ लाख ९२ हजार १५८ बराबरको अनुदान प्रदान गरेको हो।


यस अनुदान अन्तर्गत मोटर, बोरिङ, गाढ्ने कार्यका लागि आवश्यक सबै सामग्री निःशुल्क वितरण गरिएको छ। कचनकवल गाउँपालिका भित्रका कृषक समुहको लागि वेदान्तेश्वर जल उपभोक्ता समितिसँगको सम्झौतामा उक्त कार्य सम्पन्न भएको विभागले जनाएको छ। यसले कचनकवल र भद्रपुरका कृषकहरूलाई वर्षभर सिँचाइ सुविधा उपलब्ध गराउँदै उनीहरूको उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ।
प्रदेश सभा सदस्य भुमि प्रसाद राजवँशीले मन्त्रालयलाई विशेष धन्यवाद ब्यक्त गर्दै झापा जिल्लाको कृषिमा आधारित अर्थतन्त्रलाई समृद्ध बनाउने लक्ष्यसहित यो पहल अघि बढाइएको बताउनुभयो। उहाँले भन्नुभयो, “कृषकको जीवनस्तर सुधार्न सिँचाइको सहज पहुँच अत्यावश्यक छ। मेरो निरन्तर पहल र मन्त्रालयसँगको समन्वयका कारण यो सम्भव भएको हो। अब कृषकहरू वर्षभर खेती गर्न सक्षम हुनेछन् र यसले उनीहरूको आम्दानी वृद्धि गराउँछ।” उनले आगामी दिनमा पनि झापा–कोशी प्रदेशका किसानमुखी योजनाहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कचनकवलका कृषक गणेश राजवँशीले सरकारको यो सहयोगप्रति आभार व्यक्त गर्दै भने, “हामीजस्ता कृषकहरूका लागि सिँचाइको पहुँच मुख्य चुनौती थियो। बोरिङ र मोटरले अब सुक्खा बेला पनि खेती गर्न सकिने भएकाले उत्पादन दोब्बर हुने अपेक्षा गरेका छौं। यस्तो कार्यक्रम निरन्तर हुनुपर्छ।”
भूमिगत जलस्रोत तथा सिचाइ विकास डिभिजन, कोशी प्रदेशका अनुसार उक्त कार्यक्रमले साना किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउनेछ। डिभिजनका एक अधिकारीले भने, “कृषकले सिँचाइका लागि वैकल्पिक स्रोतको उपयोग गर्न पाउने भएकाले सुक्खा क्षेत्रको जमीनसमेत उपयोगमा आउनेछ। यसले प्रदेशको समग्र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउँछ।”
विशेषगरी कचनकवल र भद्रपुरका कृषकहरूलाई लक्षित गरेर गरिएको यो पहलले कृषि उत्पादनमा आत्मनिर्भरता ल्याउने विश्वास गरिएको छ। स्थानीयस्तरमा रोजगारी सृजनासँगै आर्थिक गतिशीलता ल्याउन सहयोग पुर्याउने कृषि विज्ञहरूको मत छ।