झापा, असार १९ । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश र संघीय शसर्त अनुदानमार्फत प्राप्त कृषि यान्त्रिकरण सामग्री कृषकहरूलाई वितरण गरेको छ।


गाउँपालिकाले प्रदेश शसर्त अनुदान अन्तर्गत कृषि यान्त्रिकरण परियोजना र संघीय शसर्त अनुदान अन्तर्गत हिउँदे मकैबाली प्रवर्द्धन कार्यक्रममार्फत कूल ३० लाख रुपैयाँ बराबरका उपकरण वितरण गरेको हो। सामग्रीमा ५ थान पावर टिलर, ९० थान चाप कटर, ७० थान मकै छोडाउने मेसिन, २६ थान मकै रोप्ने मेसिन, २२५ थान स्प्रे ट्याङ्की र २५०० थान धानको बीउ राख्ने ट्रे रहेका छन्।
कृषि सामग्री हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल र कृषि शाखा प्रमुख संगम सापकोटाको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा अध्यक्ष राजवँशीले भन्नुभयो, “कृषकले श्रमलाई सहज र उत्पादनलाई आधुनिक बनाउने खालका उपकरण पाएका छन्। यो कचनकवललाई आत्मनिर्भर कृषि प्रणालीतर्फ लैजाने ठूलो पाइला हो।”
उपाध्यक्ष नवराज भट्टराईले भन्नुभयो, “कृषकहरूलाई डिप बोरिङ, निःशुल्क विद्युत महसुल, बिउबिजन र यान्त्रिकरण सामग्रीमा सहुलियत दिँदै आएका छौं। यो अभियान अझै व्यापक बनाइनेछ।”
यसैबीच, सामग्री पाएका कृषकहरूले गाउँपालिकाको प्रयासको प्रशंसा गरे।
कृषक तुलाराम घिमिरेले भन्नुभयो, “चाप कटरले गाईभैँसीको घाँस काट्न ठूलो सजिलो हुने देखिन्छ। पहिले हातले काट्दा समय लाग्थ्यो, अब थोरै समयमा धेरै काम गर्न सकिन्छ।”
कृषक थीर प्रसाद नेपालले भन्नुभयो, “मकै छोडाउने मेसिनले मकै छोड्ने काममा समय बचत हुने छ। त्यसैगरी स्प्रे ट्याङ्कीले विषादी छर्ने काम छिटो र प्रभावकारी बन्नेछ। यस्तो सहयोगले कृषकको उत्पादन लागत कम गर्छ।”
कृषि शाखा प्रमुख संगम सापकोटाले भन्नुभयो, “हामीले सामग्री वितरण गर्दा कृषकलाई त्यसको प्रयोगबारे तालिम र प्राविधिक जानकारी पनि दिइरहेका छौं। यान्त्रिकरणको विस्तारले कृषकलाई परनिर्भरता घटाउन र उत्पादनशिलता बढाउन सहयोग पुर्याउँछ।”
गाउँपालिकाले आगामी वर्षहरूमा पनि कृषकलाई आधुनिक उपकरण र प्रविधिमा पहुँच वृद्धि गर्दै व्यावसायिक कृषि प्रणालीको विकास गर्ने जनाएको छ।