झापा । झापा गाउँपालिका-५ (खाताबस्ती) नजिकै सशस्त्र सीमा सुरक्षा बल खाताबस्तीबाट परिचालित संयुक्त गस्ती टुकडीले सीमामा क्रियाशील सुरक्षा संयन्त्रको प्रभावकारिता पुनः प्रमाणित गरेको छ। बिओपीका सशस्त्र प्रहरी निरीक्षक भक्त बहादुर थापाको कमाण्डमा खटिएको ७ सदस्यीय पैदल गस्ती टोलीले सीमा नं. १३० आसपास शंकास्पद गतिविधिमा भेटिएका एक युवकलाई कडाइपूर्वक चेकजाँच गर्दै लागुऔषधसहित नियन्त्रणमा लिन सफल भएको हो।
कडाइपूर्ण सुरक्षा अनुगमनका क्रममा पक्राउ पर्ने व्यक्ति झापा गाउँपालिका-३, केरखाका २८ वर्षीय दिलिपकुमार भुजेल (सागर भुजेल) रहेको खुलासा भएको छ। नेपाल प्रवेश गर्ने क्रममा उनको अस्वाभाविक हर्कत देखिएपछि गरिएको विस्तृत चेकजाँचमा अन्दाजी ९ ग्राम लागुऔषध, नेपाली रूपैयाँ ८५० र HOTWAV मोबाइल फोन बरामद भएको सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा निकायका अनुसार सीमाबाट लागुऔषध ओसारपसारलाई सघाउने अवैध सञ्जाल सक्रिय भएको सूचना पाइएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे र यही सतर्कता प्रहरीले भुजेललाई पक्राउ गर्न सक्षम भएको हो। प्रारम्भिक अनुसन्धानकै क्रममा बरामद सामग्री र उनको गतिविधिले उनको अवैध कारोबारमा प्रत्यक्ष संलग्नता संकेत गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक थापाको कमाण्डमा सञ्चालन भइरहेका गस्ती, निगरानी र सूचनाको सूक्ष्म विश्लेषणले सीमा क्षेत्रमा ‘सम्भावित’ ठानिएका अवैध कारोबारी पनि अब उम्कने ठाउँ बाँकी नरहेको सन्देश दिएको छ। सुरक्षा निकायले सीमा क्षेत्रलाई अपराध-मुक्त राख्न शून्य सहनशीलता नीति कडाइका साथ लागू गरिने र अवैध गतिविधिमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।
सीमामा कडाइसँग काम गरियो भने अपराधी उम्कन सक्दैनन्-यो तथ्य फेरि एकपटक प्रमाणित भएको सुरक्षा स्रोतहरूको टिप्पणी छ।




















